गभर्नर विवादमा मुछिएसँगै सेयर बजारमा सुधार, २ दिनमा ७५ अंक बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा मुछिएसँगै सेयर बजारमा पछिल्लो २ दिनमा मात्रै ७५ अंकको सुधार आएको छ ।

बुधबार ५९ अंकले बढेको सेयर बजार बिहीबार करिब १५ अंकले उकालो लागेको हो ।

नेकपा एमालेले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखिएपछि उनी विवादमा मुछिएका थिए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ । ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । यस्तो अवस्थामा सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई सहज हुनेगरी कुनै व्यवस्था गर्छ या गर्दैन भन्ने चासो भइरहँदा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्। बुधबार र बिहीबार दुबै दिनको संसद बैठकमा गभर्नर अधिकारीमाथि सत्तापक्षका सांसदहरु दुबैले प्रश्न उठाएका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा राखिएका खोटाङका एम। अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको खबर बाहिरिए पछि संसददेखि सडकसम्म छानविन गर्नुपर्ने आवाज उठेको छ । ४-१२ को सेयर धितोकर्जाको सीमा परिवर्तनको माग गर्दै लगानीकर्ताहरू विरोध गर्दै सडकमा उत्रिएका छन् ।

यता गभर्नर अधिकारीले अहिले भने एमालेको उक्त विभागमा राखिएको एम अधिकारी आफू नरहेको स्पष्टीकरण दिएका छन् । गभर्नर अधिकारीले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आफू कुनै पनि पार्टीको कुनै पनि पदमा नरहेको अभिव्यक्ति दिएको उनले बताएका हुन् ।

आम रुपमा उनको विभागमाथि प्रश्न उठेपछि उनले दिएको स्पष्टीकरणमा भनेका छन् ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ’ उनले प्रथमतः स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसकेका छन् ।

बिहीबार १ हजार ९८६.८३ बिन्दुमा खुलेको बजारमा दिनभर तीव्र उतारचढावका बीच १४.७१ अंकले उकालो लाग्दै २ हजार १ दशमलव ५३ बिन्दुमा बन्द भएको हो । आजको बजारमा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकम ३७ करोड ७४ लाख रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन बुधबार २ अर्ब ४ करोड ४४ लाख रुपैयाँको बढीको कारोबार भएको थियो ।

आज २२० कम्पनीका ६२ लाख १० हजार ९०८ कित्ता सेयर ३९ हजार १६८ वटा संख्यामा खरिद बिक्री भएका छन् । आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १६ कम्पनीको भाउ स्थीर रहेको छ । आज एनआईबिएल प्रगति फण्डको इकाईमूल्य ९.९८ प्रतिशतले बढेको छ । प्रभु सेलेक्ट फण्ड, अपर तामाकोशीको ७ प्रतिशत माथि, नबिल ब्यालेन्स्ड फण्ड २, रिभर फल्स पावर र बोर्टलर्स नेपाल तराईको सेयरमूल्य ६ प्रतिशत बढीले बढेको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ५.०१ प्रतिशतले घटेर ३४१ रुपैयाँमा झरेको छ । सिईडिबी हाइड्रोपावर, समीट लघुवित्त र लक्ष्मी लघुवित्तको सेयरमूल्य ३ प्रतिशतले मूल्य घटेको छ ।

आज नेप्सेमा एनआईसी एसिया बैंकको सर्वाधिक ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको १४ करोड १३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख, शिवम् सिमेन्टसको ८ करोड ३९ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल एसबिआई बैंक, ग्रामीण विकास लघुवित्त, अरुण काबेली र दशौं ठूलो कारोबार भएको नेपाल टेलिकमको ४ करोड ८७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७९, बिहीबार  १६ : ३६ बजे