अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा शनिबार बिहान ९ बजे सेयर बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा १ लाख ३९ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी १३ लाख १३ हजार ७३ जना आवेदकको हात खाली भएको छ ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख ५५ हजार ३८४ वटा आवेदबाट १ करोड ६० लाख ६० हजार ६१० कित्ताको माग परेको थियो ।
जसमध्ये एकभन्दा बढी पटक दोहोरो आवेदन दिने २ हजार ८११ लगानीकर्ताबाट परेको ३४ हजार ६७० कित्ता सेयरको आवेदन रद्ध गरिएको थियो । रितपुर्वक सर्वसाधारणबाट परेको १४ लाख ५२ हजार ५७३ वटा संख्याबाट माग भएको १ करोड ६० लाख २५ हजार ९४० कित्तालाई बाँडफाँडमा सहभागि गराइएको हो ।
कम्पनीले असार २४ गतेदेखि असार २९ गते बुधबारसम्म प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल निष्काशित सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर १८ जना कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर १५ वटा सामूहिक लगानी कोषका इकाइहरुलाई बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ९५ हजार कित्ता सेयर १ लाख ३९ हजार ५०० जनालाई बाँडफाँड गरिएको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई ‘केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित दरका ५ करोड मूल्यको ५ लाख कित्ता साधारण सेयर जारी गरेको थियो ।
पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडि सकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।
विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल मंसिरमा सम्पन्न भई विद्युत उत्पादन गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया