सानिमा बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बैंकिङ क्षेत्रसँग जोडिँदै गर्दाका आफ्ना अनुभवहरुलाई शब्दमा उतारेका छन् ।
दाहालले तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा सक्रिय हुँदाका अनुभवहरुको संगालो “रिटायरमेण्ट एट फिप्टी” नामक किताब बजारमा ल्याएका हुन् ।
नबिल बैंकको उच्च व्यवस्थापनमा रहँदै गर्दा सानिमा बैंकको प्रमुख कार्यकारीको जिम्मेवारीमा आएको दाहालले ८ वर्ष नेतृत्व सम्हाले । यो बीचमा उनी बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोशिएसनको अध्यक्ष समेत भए । नबिल बैंक तथा सानिमा बैंकमा ३ दशक भन्दा बढी समय बिताउनुपूर्व दाहाल सरकारी कर्मचारी थिए ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै प्रकासन भएको उक्त पुस्तकमा दाहालले विभिन्न ७ अध्याय मार्फत आफ्ना अनुभव तथा सिकाइलाई अभिव्यक्त गरेका छन् । उक्त किताबको पहिलो अध्याय वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०६९/७० तथा आर्थिक वर्ष २०७७/७८ को तुलनात्मक वित्तीय कार्य सम्पादन सम्बन्धी उल्लेख गरिएको छ । त्यसैगरी दोस्रोमा सानिमा बैंकका सफलताका कथाहरुका साथैं भि.आई.पि. सेयरधनीसँग सम्बन्धित विषयवस्तुलाई समेटेका छन् । त्यसैगरी दाहालले आफ्नो किताब मार्फत नबिल बैंक नाफामा पहिलो हुनुको रहस्य तथा रेमिट्यान्स बिजिनेसमा सफल हुन नसकेको विषयलाई समेटेका छन् ।
उनले आफू बैंकर्स संघको अध्यक्ष हुँदै गर्दा देखि नै प्राथमिकतामा राखेर ओकालत गर्दे आएको बैंकिङ्ग कसूर तथा सजाय ऐन संशोधन लगायतका विषयहरुलाई पनि उक्त किताबको एक अध्यायमा समेटिएको छ । उनले ग्लोबल आईएमईको उदाहरण सहित मर्जर तथा प्राप्तीमा के गर्नु पर्ने हो भन्ने विषयलाई समेत गहन विवेचना गरेका छन् । दाहालले छैटौ अध्यायमा देशको आर्थिक तथा सामाजिक विकास, राजनितिज्ञ, कर्मचारीतन्त्र, जातिय क्षेत्रीय संकिर्णताको विषयमा उल्लेख छ । त्यसैगरी उनको किताबको अन्तिम अध्याय मार्फत बिज्ञान शिक्षकबाट खाएको पिटाई, नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको रहस्य तथा युवा पुस्ताले सफल हुन गर्नुपर्ने विषय र आफू फेरि सीईओ हुन नचाहेको कारण लगायतका विषयमा लेखोका छन् ।
दाहालले आफुले नेतृत्व लिँदै गर्दा सानिमा बैंकको प्रगातीलाई अंकमा नै उल्लेख गरेको छन् । आर्थिक वर्ष २०६९र७० भन्दा ३.९९% बिन्दुले लगानीको प्रतिफल बढाई सबैभन्दा कान्छो वाणिज्य बैंकको रुपमा रहेका सानिमा बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई सबैभन्दा बढी प्रतिफल दिएको विषयलाई समेत उक्त किताबमा उल्लेख छ । वाणिज्य बैंकहरुको समग्र प्रतिफलदर १०.२१ प्रतिशत बिन्दुभन्दा बढीले घटेको अवस्था थियो ।
सोही अवधिमा वाणिज्य बैंकका कर्मचारीहरुको प्रतिव्यक्ति आम्दानी ४९ प्रतिशतले बढ्दा सानिमा बैंकका कर्मचारीको प्रतिब्यक्ति आम्दानी १०८ प्रतिशतले बढ्यो ।
असार मसान्त २०७० को तुलनामा असार मसान्त २०७८ मा सानिमा बैंकको चल्ती तथा बचत निक्षेपको अंश झण्डै १८ प्रतिशत बिन्दुले बढ्यो जबकी सोही अवधिमा वाणिज्य बैंकहरुको सो अंश झण्डै एक प्रतिशत बिन्दुले घटेको थियो ।
सोही समयमा ब्यक्तिगत निक्षेपको अंश वाणिज्य बैंकहरुमा २.२ प्रतिशत बिन्दुले बढ्दा सानिमा बैंकले २२.२४ प्रतिशत बिन्दुले बढायो । अपवाद बाहेक सानिमा बैंक प्रत्येक वर्षको असार मसान्तमा सबैभन्दा न्यून निष्कृय कर्जा राख्न सफल रह्यो । उनको ८ वर्षे कार्यकालमा धेरै शाखा नखोली तथा ठूला मर्जर पनि नगरी सानिमा बैंक सञ्चालन मूनाफाको श्रेणी सुधारमा दोश्रो हुन सफल भयो । यस्ता धेरै अनौठा उपलब्धीहरु दाहालको कार्यकालमा सम्भव हुनुका कारणहरु उनको पुस्तकमा उल्लेख छन् ।
त्यसैगरी दाहाल प्रमुख वित्त अधिकृत हुँदा आर्थिक वर्ष २०६५/६६ मा नबिल बैंक सञ्चालन मुनाफामा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई पछि पारी १ नम्बरको ताज पहिरिन सफल भएको थियो । पहिलो विदेशी लगानिको बैंक नबिलको मुख्य विदेशी लगानीकर्ता ईमिरेट्स बैंक ईण्टरनेशनल लिमिटेड, दुबईको सेयर नेशनल बैंक लिमिटेड, बंगलादेश अनि पछि एनबी इण्टरनेशनल लिमिटेड, आयरल्याण्डमा सार्दा दाहाल नबिल बैंकमै कार्यरत थिए ।
नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा संघीय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिन आदि संस्थासँग कार्य गर्दाका उनका अनौठा अनुभवहरु पनि पुस्तकमा लेखिएका छन् । दाहालले उक्त पुस्तकबाट प्राप्त हुने सम्पूर्ण आम्दानी सामाजिक संस्था युनिभर्सीटी अफ थ्री जेनेरेसनलाई प्रदान गर्ने निर्णय गरेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया