नेप्से १८ अंकले बढेपनि मौद्रिक नीति कुर्दै लगानीकर्ता, बरुण र इमर्जिङ्गको सेयरमूल्यमा सर्किट

0
Shares

चालु आर्थिक वर्षको दोस्रो दिन सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ । आइतबार करिब २ अंकले बढेको सेयर बजार आज १८ अंक बढीले उकालो लागेको हो ।

आजको बजारमा नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर २३ हजार ३८३ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९५९ रुपैयाँमा समेटिएको छ ।

लगानीकर्ताहरु मौद्रिक नीतिको पखाईमा रहेकाले सेयर बजारमा अपेक्षित सुधार आउन नसकेको हो । नयाँ आर्थिक वर्ष सुरु भएर लाभांश सिजन नजिकिएपनि लगानीकर्ताहरु अझैपनि ‘पर्ख र हेर’ को रणनीतिमा रहँदा मौद्रिक नीतिको प्रतिक्षामा रहेको बुझ्न सकिन्छ । पछिल्लो दिनमा कारोबार रकम नबढ्नुले समेत लगानीकर्ताहरु बजारमा लगानी गर्न मनस्थितिमा अझै पुगिनसकेको देखिन्छ ।

सेयर बजारमा कारोबारमा आउने सूचीकृत कम्पनीहरुको संख्या, कारोबार कित्ता र संख्यामा उत्साह देखिएको छैन । २ दर्जनभन्दा बढी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता भएकाले पनि सूचीकृत कम्पनीहरुको संख्या घटेको हो । कारोबारमा आएका उपसमुहगत सूचकमध्ये ब्यापार र म्युचुअल फण्ड सामान्य घछेका छन् भने बाँकी एघार वटै बढेको छ । होटल सूचक सर्वाधिक ४.९३ प्रतिशतले बढेको बजारमा अन्य २.०८, लगानी १.६८, फाइनान्स १.४३, निर्जीवन बीमा १.३६, जीवन बीमा १.२१ र जलविद्युतको इन्डेक्स १.१६ प्रतिशतले बढेको छ । 

आजको बजारमा शतप्रतिशत हकप्रदमा सेयरमूल्य समायोजन भएको बरुण हाइड्रोपावर र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुणको सेयरमूल्य २७.१० रुपैयाँ बढेर २९८.६० रुपैयाँ पुग्दा इमर्जिङ्ग नेपालको ६७.९० रुपैयाँ बढेर ७७४ रुपैयाँमा कारोबार बन्द भएको छ । आज चन्द्रागिरी हिल्स ६.०६, अपि पावर ५.१८ र तारागाउँ रिजेन्सी होटलकोसेयरमूल्य ४.९८ प्रतिशतले बढेको छ ।

एक अर्बमाथिको कारोबार हुँदा शिवम् सिमेन्ट्सको सर्वाधिक ९ करोड ३४ लाख रुपैयाँ भन्दा माथि कारोबार भएको छ । एशियन लाइफ ७ करोड ३९ लाख, अपि पावर ५ करोड ८९ लाख, अपर तामाकोशी ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबारमा आएको छ ।

उता आज सामुहिक लगानी कोषका इकाईधनीहरुले गुमाएका छन् । सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ५.९० प्रतिशतले घट्दा कुमारी इक्वीटी फण्ड ५.७६, सनराइज ब्लूचिप फण्ड ३.७८, सिटिजन्स म्युचुअल फण्ड ३.७३ र स्वावलम्बन लघुवित्तको सेयरधनीले २.९१ प्रतिशतले गुमाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ साउन २०७९, सोमबार  १६ : ३४ बजे