रेमिट्यान्स फजुल खर्चमै सकियो, यसलाई देश निर्माणमा लगाउनुपर्छः श्रममन्त्री कुँवर

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट प्राप्त हुने रेमिट्यान्स रकम सहि ठाउँमा सदुपयोग हुन नसकेको भन्दै यस्तो पुँजीलाई देश निर्माणमा लगाउनुपर्ने बताएका छन् ।

गैर आवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेमिट्यान्सको लगानी विश्लेषण गर्नुपर्ने अवस्था आइसकेको बताए ।

“देशभित्र एक लोटा पानी नसार्ने ब्यक्तिले विदेशमा गएर कति गाह्रो गरेर पैसा कमाई गरेका हुन्छन् त्यसको सदुपयोग गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ । रेमिट्यान्स पुँजीलाई देश निर्माणमा लगाउनुपर्छ भन्ने मान्यताको विकास गर्न ध्यान दिनुपर्छ ।” मन्त्री कुँवरले भने, “कुल ग्राहस्थ उत्पादनमा ठूलो अंश रेमिट्यान्सको छ । उक्त पुँजी फजुल खर्चमा सकिने गरेको छ । यसको नियन्त्रणका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

छिमेकी मुलुक भारतले गैर आवासीहरुबाट लिएको पुँजीले कसरी विकास गर्न सकिन्छ भन्ने दृष्टान्त देखाएको उदाहरणबाट दिँदै उनले गैर आवासीय नेपालीहरुको पुँजी पनि हाम्रै हो, भनेर राज्यले उदार भएर हातहरु फैलाउनुपर्ने धारणा राखे । गैर आवासीय नागरिकलाई अधिकार दिए के हुन्छ भनेर भारतबाट समेत सिक्न सकिने उनले बताए ।

अझैपनि हुण्डीबाट रेमिट्यान्स भित्रिरहेको भन्दै उनले श्रम गन्तब्य मुलुकमा नेपाली बैंकको शाखा स्थापना गर्न सकेको खण्डमा सुरक्षित र भोल्यूममा रेमिट्यान्स भित्र्याउन सकिने बताए । “अझैपनि हुण्डीबाट आउने रेमिट्यान्स रोक्न सकिएको छैन । नेपाली बैंकको शाखा खोलेर हुन्छ कि वा दुई देशबीच समझदारी गर्नसके रेमिट्यान्स अझै बढ्छ ।” उनले थपे, “श्रम बजारलाई खुम्च्याउनुभन्दा श्रमिकको सुरक्षा र पारिश्रमिकमा एकदमै सबल भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । ”

मन्त्री कुँवरले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न बेतिथि, विसंङ्गति, सास्ती, अप्ठेरो अरिस्थिति आएकाले विषय पेचिलो बन्दै गएको बताए । श्रम गन्तब्यलाई कसरी सजिलो र सहज बनाउने तथा श्रमिकहरुको सुरक्षालाई राज्यले महत्वका साथ लिनुपर्ने उनको भनाई छ । श्रम गन्तब्य देशका कानुनले नेपालका श्रमिकहरुको बारेमा बोलेको छ कि छैन अध्ययन गरेर मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने उनले बताए । श्रमिको पक्षमा कानुन बनाउन सकेमा मात्र श्रम गन्तब्य सुरक्षित बन्न सक्ने उनको भनाई छ ।

अरबमा मृत्युवरण गरेका अझैपनि केही नेपाली श्रमिको लास उठाउन नसकिएको स्वीकार गर्दै मन्त्री कुँवरले विदेशमा अर्धचेत अवस्थामा पुगेका नेपाललीलाई देशभित्र ल्याउने दायित्व राज्यको रहेकाले त्यसमा सघाउन एनआरएनएलाई आग्रह गरे । सरकारले गर्नुपर्ने कुराहरु कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री कुँवरले देशले विदेशिक रोजगारीमा नागरिक पठाएपछि उनीहरुको ज्याला, सुरक्षा र जोखिम पर्दा उद्दारमा राज्यले ध्यान दिनुपर्ने बताए । यहि कारण सामाजिक सुरक्षा कोषलाई अगाडि बढाएको उनको भनाई छ । सामाजिक सुरक्षाको मोडल अबलम्बन गर्दा देशभित्रका विज्ञहरुबाट प्रचलित मोडलहरुको अध्ययन गरेर लागू गर्न सकिने वा आफ्नै मोडल समेत विकास गर्न सकिने धारणा छ ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले अहिले पनि धेरै ठाउँमा नेपाल कामदार अदक्ष भएका कारणले अन्य कामदारभन्दा दश गुणा कम पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था रहेको बताए । वैदेशिक रोजगारीमा दक्ष कामदार पठाउन सकेको खण्डमा अहिले आर्जन भैरहेकोभन्दा धेरै गुणा विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । आचानर्यले भने, “योजना बनाउने स्थान (प्लानिङ) मा नेपाली कामदारलाई पुर्याउन सकेको खण्डमा कम तलवमा काम गर्नुपर्ने, हेपिने परिस्थितिमा काम गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”

संसारका सबै देशहरुमा एनआरएनएको नेटवर्कलाई प्रयोग गरेर नेपाली दाजुभाइहरुलाई सहयोग गर्ने अवस्थामा पुगेका र संघले सबै अप्ठेरो परिस्थितिमा नेपालीहरुको दुःखको साथमा नै रहेको उनको भनाई छ ।  नेपालीहरुको लास कुहिएर विदेशमा ने सड्ने वा बिना कारण जेल जीवन बिताउनुपर्ने अवस्थाले पीडा दिने बताउँदै उनले यस्ता विषयमा सरकार र सामाजिक सुरक्षा कोषको अवधारणले हेर्ने विश्वास व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वैदेशिक रोजगारी लगायतका बचतपत्रजस्ता उपकरणहरुमा लगानी अवसर सिर्जना गर्न सकेको खण्डमा रेमिट्यान्सको आप्रवाह बढ्न जाँदा वैदेशिक सञ्चितिमा समेत सुधार आउने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ साउन २०७९, बिहीबार  १४ : ५१ बजे