नेप्सेमा सामान्य गिरावट, मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता

0
Shares


पछिल्लो आठ कारोबार दिनमा लगातार बढेको नेप्से सूचकमा नवौं दिनमा सामान्य गिरावट आएको छ । चालु आवको मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता रहदा बजार सूचकसँगै कारोबारमा समेत सामान्य करेक्सन आएको हो ।

नेपाल राष्ट्र बैंक शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ।

बिहीबार नेप्सेमा ५.८७ अंकको करेक्सन आउँदा नेप्से सूचक २०४४.७२ बिन्दुमा झरेको छ । यसदिन कुल २२५ कम्पनीको २७ हजार ५२२ वटा कारोबारबाट ३९ लाख ८ हजार ३९५ कित्ता सेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँ बराबरमा कारोबार भएको छ । अघिल्लो दिन एक अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बैंकिङ र अन्य बाहेक सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै व्यापार उपसमूहका लगानीकर्ताले गुमाएका छन् । सर्वाधिक घटेको व्यापार र जीवन बीमा उपसमूह हुन्।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएपछि लगानीकर्ताको ध्यान वाणिज्य बैंकहरुले तानेको छ । विहीबार एनआईसी एसिया बैंकले करिब ४० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको थियो। यो बैंकको सेयरमूल्य प्रतिकित्ता ६ रुपैयाँले बढेर ७२२ रुपैयाँ पुगेको छ ।

बिहीबार सेन्ट्रल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स डिभेन्चरको सेयर मूल्य सबैभन्दा धेरै ६.७१ प्रतिशतले घटेको छ ।

बिहीबार शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । शिवम् सिमेन्ट्सको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। एनआईसी एशिया बैंकको ११ करोड बढीको कारोबार भयो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ साउन २०७९, बिहीबार  १५ : ५७ बजे