कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा दोब्बर भएको छ । निष्क्रिय कर्जा घटेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याउँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो ।
गत आर्थिक वर्ष २०७८।७९ मा लघुवित्तले १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १३२.७२ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष २२ करोड ७३ लाख ८३ हजार, निक्षेप संकलन १ अर्ब ४६ करोड ८७ लाख, सापटी १ अर्ब ८६ करोड ९३ लाख र कर्जा लगानी ३ अर्ब ९१ करोड ६६ लाख रहेको छ । लघुवित्तको खुद ब्याज आम्दानी २९ करोड ४७ लाख ९६ हजार, सञ्चालन नाफा ८ करोड ९२ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १२.७२ प्रतिशत, जगेडा कोष ५१.२३, निक्षेप संकलन २६.८०, सापटी ३७.३५, कर्जा लगानी ३०.३०, खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेको छ । गत आवमा २ करोड ६० लाख सञ्चालन नोक्सानीमा रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले खराब कर्जा व्यवस्थामा १९ करोड ७० लाख छुट्टाएको यस अवधिमा ७ करोड ५९ लाख मात्र राखेको छ । यसले लघुवित्तको खुद नाफा वृद्धिमा ठूलो टेवा दिएको हो । सो अवधिसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २१.१८ रुपैयाँ बढेर ४१.०७ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.१९ गुणा छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया