मौद्रिक नीतिपछिको नेप्सेमा उछाल, लाभांश लक्षित लगानीले उकास्यो कारोबार

0
Shares

मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिनको सेयर बजारमा उत्साह देखिएको छ । आइतबार सेयरको बजारमा नेप्सेमा हरियाली छाएको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ ।

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको प्रभावले सेयर बजारमा उत्साह देखिएको छ। उतारचढाव देखिइरहेको बजारमा लगानीकर्ताको विश्वास फर्किएसँगै बजारमा उछाल देखिएको हो।

अर्कातर्फ सूचीकृत कम्पनीहरुले गत आवको आर्थिक विवरणहरु प्रकाशन गर्न थालेपछि लगानीकर्ताहरुको लाभांश लक्षित सेयर खरिदमा जुट्दा सेयरको माग बढ्दा मूल्य बढेको हो भने कारोबार रकममा समेत सुधार आएको छ ।

शुक्रबार घोषित मौद्रिक नीतिले सेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ ।

त्यस्तै २५ लाखभन्दा मुनिको सेयर ऋणमा जोखिमभार १५० बाट घटाएर एक सय कायम गरेको छ । यसअघि जुनसुकै परिमाणको सेयर धितो कर्जा लिँदा १५० प्रतिशतसम्म जोखिम भार बैंकहरूले छुट्याउनुपर्ने व्यवस्था थियो।

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ। सेयर ब्रोकरमार्फत मार्जिन कर्जा नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो सीमा पनि हटाइने राष्ट्र बैंकले जनाएको छ। यी व्यवस्थाहरुले लगानीकर्ताको मनोबल फर्कदा बजारमा सकारात्मक प्रभाव परेको हो ।

आइतबार नेप्से परिसूचक ६१।०५ अंकले बढेर २०७८ अंकमा पुगेको छ । यसदिन कुल २ अर्ब ७३ करोडको कारोबार भयो, यसअघि शुक्रबार १ अर्ब ४४ करोडको मात्रै कारोबार भएको थियो ।

कारोबारमा आएका सबै उपसमूहरु बढेका छन् । बैंकिङ २२, विकास बैंक १७७, फाइनान्स ११७, होटल तथा पर्यटन ७४, जलविद्युत् ८४, जीवन बीमा २०७, उत्पादन १००, माइक्रोफाइनान्स १७५, निर्जीवन बीमा ११७, अन्य १०३ र व्यापार उपसमूह ८८ अंकले बढे ।

यसदिन फाइनान्स कम्पनीहरुका लगानीकर्ताको आकर्षण देखिएको छ । सेन्ट्रल, समृद्धि र मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९।६ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र अरुणकाबेली पावरको धेरै कारोबार हुने कम्पनीमा परेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ८ साउन २०७९, आइतबार  १५ : ४८ बजे