पुँजी बजारमैत्री नीतिको अपेक्षाले सेयर कारोबारमा उत्साह

0
Shares

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि धितोपत्र नीति सार्वजनिक गर्ने दिनको सेयर बजारमा उत्साह छाएको छ । यसदिन सेयर बजार दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि झण्डै ५ अर्ब पुगेको छ ।

बोर्डले पुँजी बजारमैत्री नीति ल्याउने अपेक्षामा रहेका लगानीकर्ता बजार प्रवेश गर्दा सेयरको भाउ र कारोबारमा सुधार आएको हो । बोर्डले पुँजी बजारको विस्तार र विकासका लागि बजार सुधारसहितका कार्ययोजना ल्याउने आँकलनले सेयर बजार सकारात्मक बनेको हो ।

धितोपत्र नीति: एसएमई प्लेटफर्म, ब्रोकर लाइसेन्स, पिइभिसी लगायतका विषय सम्बोधन गर्ने

बिहीबार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको छ। यसदिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भयो । बुधबार ३ अर्ब १६ करोड १४ लाख बराबरको कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन्।

विहीबारको बजारमा कारोबार आएका कम्पनीमध्ये १२५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४६ वटाको घटेको छ । ९ कम्पनीको स्थिर रहेको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

यस्तै राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको सेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । अरुण काबेली को सबैभन्दा धेरै करिब १८ करोडको सेयर किनबेच भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ साउन २०७९, बिहीबार  १५ : १९ बजे