बढ्दो ब्याजदरको चेपुवामा सेयर बजार

0
Shares

बैंकिङ प्रणालीको ब्याजदर उच्च दरमा बढ्न थालेपछि त्यसको असर धितोपत्र बजारमा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन ल्याएसंगै सेयर बजारमा उच्च अंकको गिरावट आएको हो ।

केन्द्रीय बैंकले नीतिगत दर बढाएर निक्षेप तथा कर्जाको ब्याजदर बढाउन दवाव दिएको छ । सेयर बजार र बैंकिङ क्षेत्रको ब्याजदरको सम्बन्ध विपरित हुने गर्दा, ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने हुन्छ । सोही अनुसार बैंकिङ क्षेत्रको ब्याजदर बढेसंगै सेयर बजार घट्दो क्रममा देखिएको हो

बैंकिङ क्षेत्रको स्रोत अभावको समस्या झनै जटिल बन्ने तथा उच्च ब्याजदरमा पनि कर्जा नपाइने अवस्था बनेपछि सेयर लगानीकर्ताको मनोबल कमजोर देखिएको हो । केन्द्रीय बैंकले व्यक्तिगत, ओभरड्रफ्ट, मार्जिन नेचरको कर्जाहरुमा कडाई गरेको छ । त्यतीमात्र नभई त्यस्तो कर्जा प्रबाह गर्दा बैंकहरुले १५० प्रतिशत सम्म जोखिम भार कायम गरेको छ । त्यसले गर्दा पनि सेयर बजारमा लगानी बढाउने अवस्था छैन ।

केन्द्रीय बैंकले साउन ६ गते ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति पछि सुधारको गतिमा देखिएको सेयर बजार एकीकृत निर्देशनमा संशोधन भएपछि घट्दो क्रममा देखिएको हो । मौद्रिक नीतिले मार्जिन प्रकृतिको कर्जामा लगाएको एक संस्थाबाट ४ करोड रुपैयाँ सम्ममा कर्जा सीमा हटाएपछि लगानीकर्ता केही सकारात्मक भएका थिए ।

तर, निर्देशन आउँदा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसका साथै सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरे शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न भनेपछि त्यसले पनि सेयरका लगानीकर्तालाई थप त्रसित बनाएको एक लगानीकर्ताले बताए ।

“एक वर्षको सीमालाई कडाइ गरिएकाले पनि लगानीकर्ताले बिक्री गरेर त्यसलाई सेटलमेन्ट गर्न खोज्दा बजार सूचक घटेको हो,” उनले भने,“पुरानो कर्जा घटाउनु पर्ने दवाव छ भने नयाँ कर्जा लिन उच्च ब्याजदर तथा स्रोत अभावका कारण सम्भव छैन ।”

बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई दवाव दिने तथा केरोना महामारीमा दिइएका सहुलियतहरु सबै हटाएपछि त्यसको असर पनि धितोपत्र बजारमा देखिएको हो । बैंक वित्तीय संस्थाले कर्जा उठाउन ऋणीलाई दवाव दिने वित्तीकै धितोपत्र बजारमा सेयरको आपुर्ति बढ्न जान्छ । व्यापारी उद्योगी व्यवसायीहरुले समेत सेयर बजारमा लगानी गरेको हुदाँ कर्जा सेलमेन्टका लागि पहिला आफुसंग भएको सेयर नै बिक्री गर्ने भएकाले पनि घट्ने क्रममा देखिएको हो ।

यो साता नेप्सेमा कारोबार भएको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.६१ अंकले घटेको छ । बिहीबार नेप्सेमा कारोबार भएका अधिकांस कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक बीमा तथा वित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएपछि समग्र बजार सूचक घटेको हो ।

बिहीबार नेप्से सूचक संगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब रुपैयाँ धन्दा धेरैको सेयर किनबेच भएकोमा बिहीबार घटेर ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।