अब सातामा ५ दिन मात्र सेयर बजार खुल्ने, शुक्रबारको कारोबार हट्ने

0
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले फेरि सातामा ५ दिन मात्र सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले अहिले भइरहेको शुक्रबारको सेयर कारोबार हटाउने तयारी गरेको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयालले शुक्रबार कारोबार भइरहेको हालको व्यवस्थालाई हटाउने तयारी भइरहेको जानकारी दिए ।

सरकारले आइतबार समेत गरी सातामा दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेपछि नेप्सेले परीक्षणको लागि भन्दै गत जेठ महिनादेखि आइतबारको कारोबार बन्द गरेर शुक्रबार शुरु गरेको थियो । शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ ।

आइतबार पनि सार्वजनिक विदा दिने सरकारको निर्णय फिर्ता भएसँगै आइतबार समेत हप्ता ६ दिननै सेयर कारोबार हुँदै आएको थियो । नेप्सेले अब शुक्रबारको कारोबार बन्द गरेर हप्तामा ५ दिन मात्र बजार चलाउने भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ साउन २०७९, बिहीबार  १६ : ५५ बजे