‘अन वर्ल्ड फुटवेयर’ मा लागेको आगो नियन्त्रणको चरणमा

0
Shares

काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाउने प्रयास नियन्त्रणको चरणमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आउन लागेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा आज बिहान अन्दाजी ११ बजेर ३५ मिनेट जाँदा आगलागी भएको थियो ।

उनले काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ वटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको बताए ।

श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख सहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो ।

प्रवक्ता मैनालीका अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ साउन २०७९, बुधबार  १४ : ४० बजे