नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट १५.३८ प्रतिशतमा घटाएको छ । प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण अभियान सञ्चालन गर्न गर्दै प्राधिकरणले चुहावट घटाएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०७८/७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा १.८० प्रतिशत विन्दुले घटाउन सफल भई १५.३८ प्रतिशतमा झारिएको बताए ।
विद्युत प्रणालीमा आव २०७२/७३ मा २५.७८ प्रतिशत चुहावट रहेको थियो । त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।
‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, घिसिङ्गले भने ।
विद्युत निर्यात बढ्यो
आव २०७८/७९ मा नेपालबाट भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८ मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले वृृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ । आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९ मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ ।
विद्युतका लक्ष्य आधा पनि भेट्न मुस्किल
आव २०७७/७८ मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८/७९ मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ । रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ ।
कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए । आव २०७८/७९ मा विद्युत पिक डिमाण्ड १,७४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया