आईएफसीको सहयोग सन् २०२३ सम्म ३० हजार एसएमईमाझ पुग्ने, वित्तीय पहुँच सुदृढिकरणमा सघाउ

0
Shares

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सन् २०२३ सम्म ३० हजार भन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई) माझ पुग्ने बृहद् रणनीतिले नेपालमा साना व्यवसाय र आम मानिसहरूमा वित्तीय पहुँच थप सुदृढ हुने भएको छ ।

आर्थिक वर्ष २०२२ मा आईएफसीले ४ करोड ५० लाख डलर लगानी गर्ने भएको छ । यसले ३० हजार भन्दा धेरै साना व्यवसायसम्म पुग्ने लक्ष्यलाई बढावा दिएको छ । आईएफसीको यो कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशीता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना) मा सुधारका लागि सहयोग पुग्नेछ ।

आईएफसीले पुनरुत्थान हुँदै गरेको नेपालको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर लगानी गर्न लागेको हो । भुक्तानी प्रणाली सुधार तथा ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’ जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य फराकिलो एसएमई रणनीतिको महत्वपूर्ण अङ्ग हो । यसै समयमा, आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत व्यापार वित्त सुविधा (ट्रेड फाइनान्सिङ फेसेलिटी) पनि प्रदान गर्दैछ र यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको छ । यो विश्वव्यापी रूपमा नै आईएफसीको पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम हो ।

‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम÷व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ ।

यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तार मार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिनेछ भन्नेमा हामी आशावादी छौं ।,’ वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भने ।

एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हुन्, यिनीहरूले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्दछन् । अझैपनि ४४ प्रतिशत एसएमईहरूका लागि वित्तीय पहुँच प्रमुख अवरोध रहेको छ । खासगरी दुर्गम क्षेत्रमा रहेका साना र महिलाको स्वामित्वका कम्पनीहरूमा २.९ अर्ब अमेरिकी डलर बराबरको वित्तीय खाडल रहेको अनुमान गरिएको छ ।

सीमित वित्तीय सुविधाका कारण नेपालका साना व्यवसायीहरू नगदमा आधारित भएर सञ्चालित छन् । परिणामस्वरूप, आवश्यक लगानी र उपलब्ध वित्तीय पहुँचको ठूलो खाडलमा उनीहरू विस्तार हुन संघर्षरत छन् । यसको प्रतिक्रियामा यस आर्थिक वर्षमा आईएफसीले नेपालमा तीव्र विस्तार गरिरहेको सबैभन्दा पछिल्लो वाणिज्य बैंक- सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र मुलुकको अर्को प्रमुख वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको छ । पछिल्लो चार वर्षमा एनएमबी बैंकमा आईएफसीको यो तेश्रो लगानी हो ।

यी लगानीले बैंकहरूलाई ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै सयौं एसएमईलाई लगानी गर्न र हजारौं रोजगारी सिर्जना गर्न सहज तुल्याउनेछ । नेपालजस्ता अर्थतन्त्रले व्यापार वित्त (ट्रेड फाइनान्स) को अभाव सामना गरिरहेको छ, तसर्थ आईएफसीले सम्पत्तिका आधारमा नेपालकै दोस्रो ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बैंक लिमिटेडलाई ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत सहयोग प्रदान गरिरहेको छ ।

‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामा प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गले भने, ‘यस परिदृश्यमा, देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ ।’

नेपाल आईएफसीको प्राथमिकता प्राप्त देश हो । नेपालमा आईएफसीको पहल समावेशीता अभिवृद्धि तथा दिगो आर्थिक विकास केन्द्रीत छ, जसमा उर्जा र पूर्वाधार विकासका साथै कोभिड–१९ महामारीका प्रभावसँग जुझ्नका लागि सहयोग समावेश छ । नेपालमा आईएफसीले सन् १९७५ देखि सबैभन्दा आवश्यकताका ठाउँमा लगानी गरी अवसर सिर्जना गर्दै आएको छ । सन् २०२२ को जुन महिनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी (फोर्टफोलियो) ६० करोड अमेरिकी डलर रहेको छ ।

आईएफसी के हो ?

विश्व बैकको भातृ संस्था र विश्व बैंक समूहको सदस्य आईएफसी उदयमान बजारहरुमा निजी क्षेत्रमा केन्द्रित विश्वको सबैभन्दा ठूलो विकास संस्था हो । आईएफसीले पुँजी, दक्षता, र प्रभावलाई प्रयोग गरी अत्यन्त आवश्यक भएका ठाउँमा बजार तथा अवसर श्रृजना गर्न विश्वभरका १०० देशसँग काम गर्दै आएको छ ।

आर्थिक वर्ष २०२१ भित्र आईएफसीले अहिलेसम्मकै उच्च ३१.५ अर्ब अमेरिकी डलर निजी कम्पनी र वित्तीय संस्थाहरू मार्फत् विकासशील देशमा लगानी गर्न प्रतिबद्ध रहेको छ । अर्थतन्त्रहरू कोभिड–१९ महामारीको प्रभावसँग संघर्षरत रहेको समयमा निजी क्षेत्रको क्षमता परिचालनमार्फत् गरिबी निवारण र साझा सम्वृद्धि हासिल गर्न आईएफसी क्रियाशील छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ साउन २०७९, शुक्रबार  १५ : ३१ बजे