पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ ।
पाल्पा पहाडी जिल्ला भएपनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग खुल्ने क्रम बढिरहेको छ । जिल्लामा हिजोआज उद्योग व्यवसाय फस्टाउनुका साथै बर्सेनी लगानी बढाउने उद्यमीको आकर्षण उत्तिकै छ ।
वैदेशिक रोजगारबाट फर्केका युवाले आफूले कमाएको धन गाउँमै विभिन्न उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न थालेका छन् । करिब एक दशक जापानमा वैदेशिक रोजगारको अनुभव बटुल्नुभएका रामपुरका युवा कैलाश डोटेलले बेझाड बजारमा रबिन जनरल स्टोर्स तथा क्यारोल सप्लायर्स सञ्चालन गरेका छन् ।
लामो समयसम्म विदेशको अनुभव सँगाल्नुभएका डोटेलले गाउँमै बसेर व्यवसाय गर्ने र अन्य युवामा पनि प्रोत्साहन मिलोस् भन्ने मनसाय बोकेर व्यवसाय सुरु गरेको बताउँछन् ।
“विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, सोचेअनुसार काम सबैलाई मिल्दैन, केहीले राम्रै कमाइ पनि गरेकै छन् भने केही रित्तो हात फर्कनुपरेको छ, परिवारको साथमा गाउँमै बसेर व्यवसाय गर्दा धेरै आनन्द छ, व्यापार राम्रै चलेको छ”, उनले भने ।
रामपुरकै अर्का युवा सुदीप गैरेले बेझाड बजारमै पूजा सामग्री पसल सुरु गरेका छन् । उद्योग तथा व्यवसाय फस्टाउँदै गरेको रामपुर बजारमा भोलिको राम्रो सम्भावना देखेर परिवारको सहयोगमा व्यवसाय सञ्चालन गरेको उनी बताउँछन् ।
आर्थिक वर्ष २०७८/७९ मा उत्पादनमूलक ५३, ऊर्जामूलक ५०, कृषि तथा वनजन्य तीन सय २६, पर्यटन ६१, सेवामूलक ८१, निर्माणतर्फ ६ गरी जम्मा ५२१ उद्योग नयाँ दर्ता भएका छन् । यी उद्योगमा १ अर्ब ६५ लाखको पूँजी लगानी र १८ लाख ८२ हजार ३२० रुपैयाँ कुल राजस्व प्राप्त भएको छ ।
त्यसैगरी वाणिज्यतर्फ तीन सय ७१ फार्म दर्ता भएका छन् । यी फर्ममा ५८ करोड ७८ लाख ५० हजार रुपैयाँ कुल पूँजी लगानी र ३३ लाख ७६ हजार २७९ रुपैयाँ कुल राजस्व प्राप्त भएको छ । गत आवमा ३८५ उद्योग नवीकरण, १८८ लगतकट्टा, २३१ पूँजी वृद्धि, २९ प्रतिलिपि लिएको, सातवटा उद्देश्य थप वा परिवर्तन, पाँचवटा नामसारी तथा ठाउँसारी गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।
उनका अनुसार पछिल्लो क्रममा प्रदेश सरकारले जारी गरेको कानुन बमोजिम पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो ।
“पाल्पा जिल्लामा उद्योग तथा वाणिज्य फर्म स्थापना गरी व्यवसाय गर्नेको आकर्षण बढ्दो छ, यहाँ उद्योग तथा वाणिज्य फर्म विस्तार हुँदै जाँदा धेरैले रोजगार गर्ने राम्रो अवसर पाएका छन्”, उनले भने । आव २०७७/७८ मा ६१९ उद्योग र ३८३ वाणिज्य फर्म दर्ता भएको पाइएको छ । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । उत्पादनमूलक ५१, कृषि तथा वनजन्य चार सय २८, पर्यटन र सेवामूलक ७०-७० वटा दर्ता भएको पाइएको छ ।
महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । दर्ता भएका उद्योगमध्ये २०७८÷७९ मा तीन सय ४२ र २०७७/७८ मा २९८ छन् । प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनी बढ्दै गएका हुन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् ।
वाणिज्यतर्फ दर्ता भएका फर्ममा अधिकांश किराना पसल रहेको पाइएको छ । आव २०७७/७८ मा दर्ता भएका उद्योगमा १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ लगानी भएको छ भने वाणिज्य फार्मको ५४ करोड ८१ लाख रुपैयाँ लगानी परेको छ । यसैगरी कार्यालयमा आव २०७७÷७८ मा उद्योग ४६० र वाणिज्य ६६१ गरी जम्मा १ हजार १२१ फर्म नवीकरण गरिएको छ । यहाँ १०२ उद्योग र १४३ वाणिज्य फर्म गरी जम्मा २४५ लागतकट्टा भएका छन् । पूँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारी लगायतका १ हजार १०१ काम भएका छन् ।
आव २०७६/७७ मा जिल्लामा ४०७ नयाँ उद्योग थपिएका छन् । जसमा लघुउद्यम ९, घरेलु उद्यम ३ र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक एक सय ५५, पर्यटनमूलक एक सय ४८, सेवामूलक ६२ उद्योग दर्ता भएका छन् । महिलाका नाममा १८१ र पुरुषको नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ ।
आव २०७५/७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक १११, पर्यटनमूलक ९७ र सेवामूलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा ५० लाख, प्रालितर्फका एक करोड रुपैयाँ र कृषि उद्योग १५ लाखदेखि २० लाख रुपैयाँसम्मका दर्ता भएको पाइएको छ । पाल्पामा कार्यालय स्थापनादेखि हालसम्म उत्पादनमूलक ६११, कृषि तथा वनजन्य १ हजार ३०४, पर्यटनमूलक ८४३, सेवातर्फ १ हजार ६९ गरी जम्मा ३ हजार ८२७ उद्योग तथा व्यवसाय दर्ता भई सञ्चालनमा छन् ।
कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ । १० करोड रुपैयाँसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैयाँसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोड रुपैयाँदेखि माथिकालाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । १० करोड रुपैयाँमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।
साना लगानी गरेरै भए पनि उद्यमी बन्नेको जिल्लामा आकर्षण छ । उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुई–दुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीन–तीन वर्षमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया