विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले राख्यो २७१ सेवाग्राहीलाई कालोसूचीमा

0
Shares

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो ।

कालोसूचीमा राखिउका ग्राहकहरुबाट ७९ लाख ३९ हजार ६९० रुपैयाँ बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार ६ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए ।

कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँ महसुल उठेकोे छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट चार करोड ४३ लाख ६० हजार रुपैयाँ महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।