सेयर बजार बिहीबार २७.७२ अंक बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै उप-समुहगत सूचक बढेपछि नेप्सेमा हरियाली छाएको हो ।
आज सूचक बढेसँगै नेप्से २०६८.२६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इण्डेक्स ५.४१ अंक बढेर ४००.०८ बिन्दुमा पुगेको छ । बजार सकारात्मक हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १ अर्ब ४१ करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ६४ करोडले बढेर २ अर्ब ५ करोड नाघेको छ ।
नेप्सेका अनुसार आज २२० कम्पनीका ५१ लाख १ हजार २९० कित्ता सेयर ४१ हजार ५७१ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँमा समेटिएको छ । आज कारोबारमा आएका १३ मध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशतले बढ्दा विकास बैंक पनि २.९२ प्रतिशतले बढेको छ । जलविद्युत र अन्य २ प्रतिशतमाथि तथा व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
बिहीबार चार कम्पनीको बजारमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी सबै कम्पनीहरू हालै मात्र दोस्रो बजारमा कारोबारमा आएकाले बजारमा माग उच्च हुँदा बढ्दै आएका छन् ।
नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात २६.१० रुपैयाँ बढेर २८७.१० रुपैयाँ पुगेको छ । श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात २९.५० रुपैयाँ बढेर ३२५.४० रुपैयाँ पुगेको छ । यस्तै अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात ३५.७० रुपैयाँ बढेर ३९२.७० रुपैयाँ पुगेको छ । तीनवटै स्टकको सेयर साउन ३१ गते नेप्सेमा सूचीकृत भएर आज स्पेसल प्रि-ओपन सेसनमा कारोबार भई नियमित कारोबारमा आएको हो ।
यस्तै हिमालयन हाइड्रोपावरको ८.९३, बलेफी हाइड्रोपावर ८.३८, मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ८.३० प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक ६.६७, सिंगटी हाइड्रोपावर ५.९२, आँखुखोला जलविद्युत कम्पनी ५.५९ प्रतिशतले बढेको छ ।
यस दिन एनआईबिएल प्रगति फण्डको इकाई मूल्य ३.८० प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.२८ प्रतिशत र प्राइम डिबेञ्चर २०८८को २ प्रतिशत र दोर्दीखोला जलविद्युत कम्पनी १.९८ र सनराइज ब्लूचीप फन्डको इकाई मूल्य १.९५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । शीर्ष स्थानमा रहेको रिडीको १० करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो । अपि पावर ७.८० करोड, शिवम् सिमेन्ट ६.०४ करोड, अरुण काबेली पावर ५.५६ करोड, आइसिएफसि फाइनान्सको ५.२८ करोडको सेयर कारोबार भएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया