इष्टर्न हाइड्रोपावरको ६ करोड मूल्यको आईपीओ बिक्री खुला

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि ६ करोड २० लाख मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याउनेछ । उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले मात्र आवेदन दिन पाउनेछन् । लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

स्थानीयबासिन्दाले आईपीओमा न्यूनतम १० देखि अधिकतममा १ लाख कित्तासम्म भर्न पाउनेछन् । आईपीओ निष्काशन बन्द छिटोमा भदौ २१ गते र ढिलोमा असोज ५ गते बन्द हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हाल पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । उक्त सेयर बाँडफाँड भएपछि दोस्रो चरणमा आम लगानीकर्ताको लागि सेयर खुल्नेछ ।

इष्टर्न हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट साउन ९ गते स्थानीय र सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँ मूल्यको १२ लाख ४० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।

हाल हाइड्रोपावरले भोजपुर जिल्ला हुँदै बहने पिखुवा खोलाको श्रोत उपयोग गरी ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। जसको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना ऋण पूँजीबाट ६० प्रतिशत र शेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने गरि निमार्ण थालिएको हो । आयोजनाबाट उत्पादित विद्युत ४ किलोमिटरको प्रसारण लाइन निर्माण गरेर भोजपुर सब स्टेशनमा जोडिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।