नेपाल धितोपत्र बोर्डको भदौ ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले अधिकतम आश्वा शुल्क ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ लाई पुनः संशोधन गर्दै बोर्डले सी–आश्वा शुल्क ५ रुपैयाँमा झारेको हो ।
उक्त निर्णय अनुसार अबदेखि कुनै पनि लगानीकर्ताले प्राथमिक सेयर भर्दा पाँच रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् । यसरी संकलन हुने पाँच रुपैयाँमध्ये आईपीओ निष्काशनका लागि कम्पनीले नियुक्त गरेको बिक्री प्रबन्धकले १ रुपैयाँ, सीडिएस एण्ड क्लियरिङ लिमिटेडले १ रुपैयाँ र सि आश्वा सेवाप्रदायक (बैंक) ले ३ रुपैयाँ राख्न सक्नेछन् ।
यस व्यवस्थाले प्रतिदरखास्त अधिकतम १०० रुपैयाँसम्म शुल्क उठाएका बैंकहरुको सो शीर्षकबाट उठ्ने आम्दानीमा उच्च गिरावट आउनेछ भने लगानीकर्तालाई भने ठूलै राहत पुग्ने भएको छ । भदौ ८ गते बुधबारदेखि नै खप्तड लघुवित्तको १ करोड ३२ लाख रुपैयाँको आईपीओ खुला भएको छ भने श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर जारी गर्दैछ । यहि समय बरुण हाइड्रोपावर कम्पनीको २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको हकप्रद बिक्री खुला रहेको छ ।
उता स्थानीय बासिन्दाका लागि २ कम्पनीले आईपीओ जारी गरेका छन् । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि रसुवाका स्थानीय बासिन्दाका लागि ३६ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको छ । इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि भोजपुरका स्थानीय बासिन्दाका लागि ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको अवस्था छ । बोर्डको आश्वा शुल्क घटेपछि अब सबैले राहत पाएका हुन् ।
यस्तै २९ कम्पनीको १० अर्ब ४ करोड ८८ लाख २८ हजार १८५ रुपैयाँ मूल्यका ७ करोड १९ लाख २८ हजार ७०५ कित्ता सेयर धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । यी कम्पनीहरुले बोर्डबाट स्वीकृति पाएपछि सेयर बिक्रीमा ल्याउनेछन् । बोर्डको सि–आश्वाशुल्क घटेपछि यी सबै कम्पनीको आईपीओ भर्नेहरुले ठूलो राहत पाएका छन् ।
प्राथमिक बजारमा पछिल्लो समय आईपीओ नपर्ने तर कयौं पटक आस्वा शुल्क मात्र काटिने भएपछि लगानीकर्ताले सी(आस्वा सेवाको शुल्कमा एकरुपता कायम गर्नुपर्ने माग गर्दै आइरहेका थिए ।
बैंकहरुको सि–आश्वा शुल्क दुई तिहाईले घट्ने
नेपाल धितोपत्र बोर्डले गत आइतबार सि–आश्वा शुल्क घटाएपछि सि आश्वा वापत संकलन हुने शुल्कमा ठूलो गिरावट आउने भएको छ । बोर्डको यो कदमबाट प्राथामिक बजार विस्तारका लागि एउटा इँटा थपिएको छ । यो निर्णयले सि–आश्वा शुल्क वापत संकलन हुने रकममा दुई तिहाई भन्दा बढीले घट्नेछ । यसले लगानीकर्तालाई ठूलै राहत दिएको छ ।
बोर्डको पछिल्लो व्यवस्थाले बैंकहरुको सि–आश्वा शीर्षकबाट हुने कमाई ह्वात्तै घट्ने भएको हो । हाल २५ रुपैयाँ शुल्क असुल्दै आइरहेका बैंकको सि आश्वाको कमाई ८० प्रतिशत घट्नेछ भने २० रुपैयाँ असुल्नेको ७५ प्रतिशत, १५ रुपैयाँ असुल्नेको ६६.६७ प्रतिशत, १० रुपैयाँ असुल्दै आएका बैंकहरुको कमाई ५० प्रतिशतले घट्ने छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आश्वा शुल्कको नाममा अहिलेसम्म १० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म लगानीकर्ताबाट असुल्दै आइरहेका छन् । पहिले निःशुल्क सेवा दिएका धेरै बैंकहरुले सि–आश्वा शुल्क बढाएर लगानीकर्ताबाट १० देखि २५ रुपैयाँ असुली गर्दै आएका थिए । स्ट्याण्डर्ड चाटर्ड बैंकले भने १०० रुपैयाँसम्म असुल्दै आएको थियो ।
हालसम्म बैंकहरुले संकलन गर्ने सि–आश्वा शुल्क औसतमा १५ रुपैयाँ छ । प्रारम्भिक सार्वजनिक निष्काशनको समय अधिकतम २७ लाख वटासम्म आवेदन परेको थियो । सो समयमा सि–आश्वा शुल्क वापत प्रति आवेदक १५ रुपैयाँका दरले ४ करोड रुपैयाँभन्दा बढी रकम लगानीकर्ताबाट संकलन भएको थियो । सार्वजनिक निष्काशन हुने रकमभन्दा बढी आश्वा शुल्क संकलन हुन थालेपछि शुल्क अत्याधिक रहेको आवाज उठ्न थालेको थियो । ५० लाखको आईपीओमा सि–आश्वाशुल्क ४ करोड संकलन हुन थालेपछि यहि शुल्कलाई टेकेर बैंकहरुलाई आयआर्जनको धन्दा बनाएको भन्दै तीव्र विरोध भएको थियो ।
कयौं पकट आईपीओ नपर्ने तर शुल्क मात्र काटिने भएर घटेको समयमा पनि पछिल्लो पटकका आईपीओमा न्यूनतम १५ लाख बढी नै आवेदन परिरहेको अवस्था छ । यस आधारमा एक आवेदकबाट १५ रुपैयाँ औसतमा शुल्क हिसाब गर्दा २ करोड २५ लाख रुपैयाँसम्म सि– आश्वा शुल्क उठ्दै आएको छ । पाँच रुपैयाँ कायम हुँदा १५ लाख आवेदन पर्ने कम्पनीबाट हुने सि आश्वा शुल्क संकलन ७५ लाख रुपैयाँमा खुम्चनेछ । यो हाल संकलन हुँदै आएको रकमभन्दा दुई तिहाईभन्दा बढीको गिरावट हो । नयाँ व्यवस्था अनुसार संकलित सि–आश्वा शुल्क पहिले संकलन हुने रकमको एक तिहाई मात्र हुने देखिन्छ ।
धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका २०७३ मा बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सुविधा उपलब्ध गराए वापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सो भन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा लिन पाउने व्यवस्था रहेको थियो । सोही व्यवस्थालाई टेकेर बैंकहरुले निःशुल्क बनाएका सेवालाई बढाएर २५ रुपैयाँसम्म असुल्न थालेका थिए ।
केही वर्षअघि प्रतिस्पर्धाका कारण धेरै बैंकहरुले निःशुल्क दिँदै आएको आश्वा शुल्क पछिल्लो समय बैंकहरुको आम्दानीको स्रोत घट्न थालेपछि सबै बैंकहरुले लगानीकर्ताबाट असुल्न थालेका थिए । यस्तो शुल्कबाट हुने बैंकहरुको कमाईले खुद ब्याज आम्दानीमा थप हुने भएकाले बैंकहरुको नाफा वृद्धिमा समेत सघाउ पुगेको थियो ।
बैंकहरुको शुल्ककै कारण आईपीओमा २७ लाख बढी संख्यामा पर्ने आवेदक आधाभन्दा बढीले घटेको थियो । आईपीओ भरेको ३५ पल्टसम्म सेयर नपर्ने तर बैंकहरुले हरेक आवेदनबाट २५ रुपैयाँका दरले लगानीकर्ताको बैंक खाताबाट सि–आश्वा शुल्क उठाउन थालेपछि आईपीओ आवेदक समेत आधाले घटेको थियो । यसबीचमा केहि भने लगानीकतालाई निःशुल्क सि–आश्वा सेवा समेत दिँदै आइरहेका पनि छन् ।
सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदनको बाँडफाँड परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने व्यवस्था सि–आस्वा प्रणाली हो । जसमा घरमै बसेर धितोपत्र खरिदका लागि आवेदन दिन सकिन्छ ।
यसका लागि लगानीकर्ताले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा रजिष्ट्रिशन नम्बर (सिआरएन) लिनुपर्छ । बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरिदिनेछ र लगानीकर्तालाई सिआरएन नम्बर उपलब्ध गराउँछ । एक पटक सि–आश्वा प्रणालीमा रजिष्ट्रेशन भई सिआरएन लिएपछि उक्त नम्बरबाट आफैँले घटबाटै इन्टरनेटको सहायतामा सेयर अनलाइन सफ्टवेयर तथा मोबाइल एपमार्फत सेयर आवेदन दिन सक्छन् । सार्वजनिक निष्कासनमा २०७३ माघदेखि ऐच्छिकरुपमा आस्वा प्रणाली २०७४ साउनदेखि लागू भएपनि सि– आश्वा प्रणाली भने विसं २०७४ फागुन ११ गते मात्र लागू भएको थियो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा ५३ लाख ३७ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन्। यस्तै ४४ लाख ३२ हजारभन्दा बढीले मेरो सेयर सेवा लिएका छन् । जसबाट मोबाइल एप तथा वेवसाइटबाट लगइन गरी आईपीओ भर्न सकिन्छ ।
यसअघि कुन बैंकले कति असुल्थे आश्वा शुल्क ?
हालसम्म तीन बैंकले निःशुल्क सि–आश्वा सेवा दिँदै आएका थिए । वाणिज्य बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकले लगानीकतालाई निःशुल्क सि–आश्वा सेवा समेत दिँदै आइरहेका साउनसम्म शुल्क लिँदै आएको कुमारी बैंकले पनि भदौबाट निःशुल्क बनाएको छ ।
दुई वटा सरकारी बैंक र ७ निजी सहित ९ बैंकले सी–आश्वा सेवा प्रदान गरेबापत १० रुपैयाँ शुल्क लिँदै आएका थिए । नेपाल बैंक, कृषि विकास बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू (बीओके), एनसीसी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंक र सिद्धार्थ बैंकले लगानीकर्ताबाट १० रुपैयाँ लिँदै आएका थिए ।
यस्तै ग्लोबल आईएमई बैंकले लगानीकर्ताबाट १५ रुपैयाँ सि–आश्वा लिँदै आएको थियो । ८ वटा वाणिज्य बैंकहरूले सी–आश्वा सेवा बापत २० रुपैयाँ शुल्क लिँदै आएका थिए । ती बैंकहरुमा सानिमा बैंक, एनएमबी बैंक, सिटिजन बैंक, हिमालयन बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकले प्रति आश्वा २० रुपैयाँ सेवा शुल्क लिने गरेका थिए ।
सेञ्चुरी बैंक, मेगा बैंक, लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकले लगानीकर्ताबाट अधिकतम २५ रुपैयाँसम्म लिँदै आएका थिए । स्ट्यान्डर्ड चाटर्ड बैंकले अधिकतम १०० रुपैयाँ सी–आश्वा शुल्क लिने गरेको थियो । जुन सबैभन्दा महँगो थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया