भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले गरीबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरु सरकारले योजना बनाएर गर्न सुरु गरिसकेको बताएकी छिन् ।
महोत्तरीको बर्दीवास नगरपालिका वडा नम्बर १२ बाट गरीब परिवार परिचयपत्र वितरण कार्यको आज शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३३० घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्यको आज शुरुवात गरेको बताइन् । २३ जिल्लाका २१४ स्थानीय तहहरुबाट ११ लाख ८ हजार ८३६ घर परिवारको तथ्याङ्क संकलन भई २ लाख २३ हजार ३३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरणको कार्य शुभारम्भ गरिएको हो ।
मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको पनि बताइन् ।
उनले पहिचान गरिएका गरिव परिवारलाई विपन्न घर परिवार लक्षित सेवा सुविधाहरुमा आवद्ध गर्ने विषय यसवर्षको नीति तथा कार्यक्रममा पनि राखेको जानकारी दिँदै मन्त्री श्रेष्ठले स्वेदशमा नै रोजगारी सिर्जना गरेर आफ्नै खुट्टामा उभिने र कोहीपनि नागरिकले विदेश जान नपर्नेगरी काम गर्न योजनाबद्ध रुपमा सरकार अगाडी बढेको बताइन् ।
उनले भूमिको उचित प्रयोगका लागि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भन्दै भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडि बढिसकेको बताइन् । यसअघि, आजै बाराको सिम्रौनगढमा स्थापना गरिएको मालपोत कार्यालयको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अहिलेको सरकारले नागरिकले महशुस गर्ने गरी सेवा दिन शुरु गरिसकेको जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न नागरिक पनि सचेत बन्नुपर्ने भन्दै मन्त्रालयले जग्गा प्रशासनमा सुशासन स्थापनाका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् । उनले नापी र मालपोत कार्यालय सिधै जनतासँग जोडिने कार्यालय भएकाले थप ४ वटा थप नापी र मालपोत कर्यालय स्थापना गर्ने निर्णय भई २ वटा स्थापना गरिसकेको र २ वटा निकट भविष्यमा नै गर्ने जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले आफू मन्त्रालयमा आइसकेपछि गाउँव्लकमा पुनः नापी र विशेष नापीबाट ५० हजार भन्दाबढी भूमिहिनलाई लालपूर्जा वितरण गरिसकेको जानकारी पनि दिइन् ।
भूमिसँग जोडिएका सबै खालका समस्या आगामी २ वर्ष भित्र समाधान गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले यहि आर्थिक वर्षभित्र ३०० पालिकाकाका ५ लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने जानकारी दिइन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया