नेपालमा भारतीय लगानी प्रवद्धन गर्ने बिषयमा छलफल

0
Shares

नेपाल–भारत उद्योग वाणिज्य संघ र नवनियुक्त अर्थ सचिव कृष्णहरि पुष्करबीच नेपालमा भारतीय लगानी प्रवद्धन गर्ने बिषयमा छलफल भएको छ ।

शुक्रवार नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका नवनियुक्त सचिव कृष्णहरि पुस्करलाई भेट गरेर नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्ने बिषयमा छलफल गरेको हो ।

संघका अध्यक्ष सृजना राणाले  सचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गर्दे भारत नेपालको अन्तराष्ट्रिय ब्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो ब्याबसायिक साझेदार भएको स्मरण गराइन् । पारबहन सम्बन्धि मामिलामा निर्भरता, नेपालको अन्तराष्ट्रिय ब्यापारमा पारबहन निर्भरता, त्यस्तै नेपालमा आएको बिदेशी लगानी तथा धेरै पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक बिकासका सहयात्री रहेको जनाइन् ।

नेपालको ब्यापारको मुख्यद्वार भारत रहेको जानकारी गराउंदै उनले नेपालको आर्थिक बिकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको पनि जानकारी गराइन् ।

अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेश्रो बैठकको आयोजना गराउन भारतीय दूतावास मार्फत पहल गर्दै गरेको बताउंदै उनले सोही बिषयलाई लक्षित गर्दै धार्मिक पदमार्ग सम्बन्धि कफीटेबल बुक र वेबसाईट निर्माणको तयारी अन्तिम चरणमा भई रहेको जानकारी पनि गराइन् ।

नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागि संघले आफ्रनो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागी पनि अध्यक्ष राणाले अनुरोध गरिन् ।

नेपालको आर्थिक बिकासको दृष्टिकोणले तय गरिने हरेक कार्यमा अर्थ मन्त्रालय प्रमुख सरोकारवाला निकाय भएको तथा लगानी तथा ब्यापारको दृष्टिकोणबाट संघ पनि प्रमुख सरोकारवाला संस्था भएको कारण मन्त्रालयले भबिष्यमा गर्ने हरेक कार्यक्रममा संघलाई पनि समेट्न र सहकार्य गर्न पनि अध्यक्ष राणाले प्रस्ताब गरिन् ।

उक्त शिष्टाचार भेट तथा छलफलमा अर्थ सचिव कृृष्णहरि पुष्करले संघले गरेका बिगतका कार्यहरुबारे आफू जानकार रहेको भन्दै उक्त कार्यहरुको प्रशंसा गरे ।

त्यस्तै नवनियुक्त अर्थ सचिवले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको बिकासमा सकारात्मक रुपमा नै हेर्ने गरेको बताउंदै भारतबाट हामीले धेरै सिक्न सकिने र भारतसंगको सम्बन्धबाट लिन सकिने लाभहरुमा हाम्रो ध्यान जानुपर्ने बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।