लगानीकर्ता यो वर्ष लाभांश सिजनमा नै सेयर बजारमा लगानी बढाउन तयार नभएको देखिएको छ । नेप्सेमा आधा भदौ सकिएपनि विगतका वर्षहरुमा जस्तो रोनकता देखिएको छ ।
विगतमा यो समयमा गत आर्थिक वर्षको वित्तीय विवरण विश्लेषण गरेर लाभांशमा आधारित लगानी गर्ने लगानीकर्ताको संख्या बढ्ने गरेको थियो ।
यो वर्ष वित्तीय प्रणालीमा देखिएको लगानीयोग्य रकम अभाव, ब्याजदर वृद्धि र सेयर बजारप्रति अबलम्बन भएको सरकारी नीतिले धितोपत्र बजारप्रति लगानीकर्ताको आकर्षण घटाएको हो । यसले दैनिक कारोबार रकम अर्ब हाराहारीमा रहने गरेको छ ।
आइतबारको बजारमा पनि १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन २२७ कम्पनीका २८ लाख ७६ हजार २८८ कित्ता सेयर २५ हजार ३७ वटा संख्यामा खरिद बिक्री भएका छन् ।
केही समय यता नेप्सेमा वृद्धिभन्दा बढी गिरावट हुँदै आएकोमा यो साताको सुरुवातमा बजार बढेकाले आगामी दिनमा बजारले केही गति लिने अपेक्षा लगानीकर्तामा छ । आइतबार नेप्से सूचक ६.६८ अंकले बढेर १९७७.३० बिन्दुमा पुगेको छ । नेप्से सूचकमा सुधार आएपनि खरिद बिक्री रकम भने बढ्न सकेको छैन । यसले पनि बजार वृद्धिको ठोस आधार तय गरेको देखिँदैन । दीगो बजार वृद्धिका लागि सूचक सँगसँगै कारोबार रकम पनि वृद्धि हुनुपर्छ तर बजारमा कारोबार रकम नबढेकाले बजारमा लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’ को रणनीतिमा रहेको देखिन्छ ।
अर्थतन्त्रमा देखिएका सुधारका संकेत, लाभांश सिजन, सस्तो मूल्य, बढ्दो निक्षेपले आगामी दिनमा बजारले गति लिनसक्ने अवस्था भने नर्कान सकिन्न । यस्तो अवस्थामा लगानीकर्ताले जोखिम–लाभको अवस्थालाई ख्याल गर्दै राम्रा कम्पनीहरुको स्क्रिप्टमा थोरै थाोरै गरी लगानी बढाउँदै जानु उत्तम हुने अनुभवी लगानीकर्ताहरु बताउँछन् । विस्तारै लगानी थाल्दै जाँदा बजार थप घटेमा लगानी बढाउँदै जाने सकिने भएकाले पनि अहिलको बजारको बिन्दुमा गरिने लगानी सुरक्षित नै रहेको उनीहरुको बुझाई छ ।
केन्द्रीय बैंकले लिएको ४।१२ को नीति हटेर एउटा संस्थाबाटै १२ करोडसम्म कर्जा लिन सकिने भएकाले तरलता अभाव सम्बोधन हुँदै जाँदा मार्जिन ऋण समेत प्रवाह हुनेछ । अहिले १२ करोडको सीमाभन्दा बढी कर्जा लिएका लगानीकर्ताको सेयर धितो रकम सीमा भित्र ल्याइसकेको अवस्था छ । यसले ऋणमा भन्दा आफुसँग भएकै रकम लगानी रहेकाले बजारले गति लिन थालेपछि लगानीकर्ताको मनोबल बढ्दै जाँदा उच्च वृद्धिको सम्भावना पनि उत्तिकै देखिन्छ ।
आइतबार कारोबार रकममा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । रिडीको ८ अर्ब ९१ करोडको सेयर कारोबार हुँदा नेपाल टेलिकमको ६ करोड ५३ लाख, र नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, नेष्डो समृद्ध लघुवित्त, एचआईडिसीएल संस्थापक, अरुण काबेली पावर, अपर हेवाखोला र आईएमई जनरल इन्स्योरेन्स शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको आईएमई जनरल इन्स्योरेन्सको १ करोड ६९ लाखको सेयर खरिद बिक्री भएको छ ।

रुरु जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ८९.५० रुपैयाँ बढेर ९८४.५० रुपैयाँ पुगेको छ । यस्तै हिमालयन एभरेष्टको सेयर मूल्य ८.४२, जोशी हाईड्रोपावर ८.१२, युनाईटेड इन्स्योरेन्स ६.३३, अपर हेवाखोला ५.७५, श्वेतगंगा हाइड्रोपावर ५.७० प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ५.४३ प्रतिशतले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स, जाल्पा लघुवित्त र रिडी पावरको सेयरमूल्य ४ प्रतिशत बढीले बढेको छ ।
त्यस्तै, सपोर्ट लघुवित्तको २.८६ प्रतिशत, सोल्टी होटेल १.९१, नेपाल दुरसञ्चार कम्पनीको १.९०, माहुली लघुवित्त १.८३ र राधी विद्युत कम्पनी १.७९ प्रतिशतले सेयरमूल्य घटेको छ । आज कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये होटल, उत्पादन, अन्य र म्युचुअल फण्डको सूचक घटेका छन् । बाँकी विकास बैंक र निर्जीवन बीमाको सूचक १ प्रतिशतभन्दा बढीले बढेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया