बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा रिपोको मागसँगै ब्याजदर समेत बढेको छ । साथै बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग समेत बढाउँदै लगेका छन ।
नेपाल राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थालाई बिहीबार २० अर्ब रुपैयाँ रिपो प्रवाह गर्न खोज्दा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँ माग गरेका छन्।

उक्त रिपोका लागि १२ वटा संस्थाले ४१ आवेदन मार्फत ३० अर्ब रुपैयाँ माग गरेका हुन । बैंकहरुले ब्याजदर समेत बढाएर रिपो माग गरेका हुन ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले अधिकतम ८.५५ प्रतिशत तथा न्यूनतम ८.२४४ प्रतिशत ब्याजद माग गरेका थिए । जसको औषत ब्याजदर ८.४५८० कायम भएको छ । जुन अघिल्लो पटकको भन्दा धेरै हो ।
यस अधि केन्द्रीय बैंकले गत श्रावण १२ गते ३० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले औषत ८.३८१६ ब्याजदर कबुलेका थिए । सो समयमा पनि ६० अर्बको माग परेको थियो । चालु आर्थिक वर्ष सुरु भएपछि केन्द्रीय बैंकले दुई पटक गरेर ५० अर्बको रिपो जारी गरेकोमा ९० अर्ब बराबरको माग आएको छ ।
अहिले बैंकहरुमा निक्षेप बढ्न नसक्दा तरलता समस्या रहेको छ । राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा तरलता अभाव हुँदा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गर्ने गर्छ। राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था गरेको छ ।
हाल अन्तर बैंक कारोबार दर ८.५ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले नीतिगत दरलाइ ७ प्रतिशत तोकेको छ । नीतिगत दर भनेको राष्ट्र बैंकले रिपो जारी गर्दा बैंक वित्तीय संस्थाले तिर्नुपर्ने दर हो ।
वित्तीय प्रणालीमा तरलता कसीलो स्थीतीमा रहदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ । सोही कसीलो तरलता अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने गर्छ ।
लगानीयोग्य रकम (तरलता) अभाव खेपेका बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपायोग पनि बढाएका छन । बिहीबार मात्र बैंकहरुले ५२ अर्ब ७६ करोड रुपैयाँ यस्तो सुविधा लिएका छन । गत बुधबार बैंकहरुले ३४ अर्ब ३८ करोड यस्तो सुविधा लिएका थिए ।
चालु आर्थिक वर्ष सुरु भएयता भदौ २३ गतेसम्म बैंकहरुले १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्। बैंकहरुले ८५० कारोबारबाट उक्त रकम बराबरको एसएलएफ सुविधा उपयोग गरेका हुन । राष्ट्र बैंकले एक साताका लागि एसएलएफ सुविधा दिने गरेको छ ।
राष्ट्र बैंकका अनुसार अहिले समग्र बैंकिङ्ग प्रणालीमा ५० खर्ब ४० अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब १४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन । यो भदौ २१ गते मंगलबारसम्मको तथ्यांक हो । बैंकहरुको सिडी रेसियो ८८.२१ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया