
नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सको हवाई यात्रा २४ बर्ष पुरा भएको छ ।
२१ सेप्टेम्बर, १९९८ मा पहिलो उडान गरेको यती एयरलाइन्सले पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । यतीले तत्कालीन हवाई बिभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति पाएको थियो ।
नेपालमा हवाईसेवाको बिकासमा महत्त्वपूर्ण योगदान रहेको यस एयरलाइन्सको सुरूवात २ वटा ट्विनअटर बाट भएको थियो । २४ बर्षे यात्राको दौरानमा यो एयरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ ।
२४ वर्षे यात्रा अवधिमा ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एयरले नेपालमा हवाईसेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ ।
यस एयरका प्राविधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा सञ्चालित सम्पुर्ण एयरलाइन्समा कार्यरत रहेको यती एयरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
उनका अनुसार ‘यतीको २४ बर्षे यात्रा लगनशिल तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो साथै हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व। आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ’ ।
१ बर्षको अवधिमा ५ वटा विमान मार्फत यस एयरलाईन्सले १५ हजार ९२५ उडान मार्फत १० लाख ५ हजार ६ सय सतहत्तर यात्रुलाई सेवा दिएको छ भने २७ हजार ६६३ बिदेशी पर्यटकलाई सेवा दिएको जनाएको छ ।
साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरियर बोकेको छ । यो अवधिमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एयरलाईन्सले जानकारी दिएको छ ।
हालै एउटा विमान थपेको यतीसँग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया