
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । बैंकिङ प्रणालीमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभावपछि बढेको ब्याजदरको असरले सेयर बजार थप नकारात्मक भएको हो ।
बैंक वित्तीय संस्थाले मुद्दती निक्षेपमा १५ प्रतिशत सम्म ब्याजदर दिन थालेपछि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । बैंकिङ क्षेत्रको ब्याजदर सेयर बजारको सम्बन्ध जहिले पनि नकरात्मक हुन्छ । बैंक ब्याजदर बढेको खण्डमा सेयर बजार घट्ने र ब्याजदर घटेको अवस्थामा सेयर बजार बढ्ने गर्छ ।
धितोपत्र बजारको लगानीको तुलनामा बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपको लगानी सुरक्षित मानिन्छ । त्यसका साथै धितोपत्र बजारमा सूचिकृत कम्पनीले दिने प्रतिफल पनि कोरोना महामारीका कारण विगतको तुलनामा घट्ने निश्चित छ । लगानी सुरक्षा र प्रतिफलका दृष्टिकोणबाट पनि लगानीकर्ताले बैंक वित्तीय संस्थामा निक्षेप राख्नु उपयुक्त देखेपछि सेयर बजारमा बिक्री दबाब बढेको हो ।
गत साताको अन्तिम दिन बिहीबार करिब १० अंकले घटेको नेप्से परिसूचक आइतबार करिब २४ अंकले घटेको छ । आइतबार कारोबार सुरु हुदाँ १८३८.९६ अंकमा रहेको नेप्से सूचक २३.८३ अङ्कले घटेर १८१५.१३ मा झरेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका आधिकांश कम्पनीको सयेर मूल्य घटेको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमै परेको हो । नेप्से सूचकमा गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार आएको छ ।
आइतबार नेप्सेमा २२८ कम्पनीको एक अर्ब ७ करोड रुपैयाँ बराबरका ४० लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्सेको कारोबार रकम ६५ करोड रुपैयाँमा सीमित थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया