कामपाले दसैँको समयमा पनि अवैध संरचना हटाउने काम जारी राख्ने

0
Shares

हिन्दुहरूको महान पर्व वडा दसैँ सुरु भइसकेको छ । कामपाले यस समयमा पनि अवैध संरचना हटाउने काम जारी राख्ने जनाएको छ ।

कामपाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँको समयमा पनि निरन्तरता दिने कामपा नगरप्रहरी निरीक्षक धर्मराज भण्डारीले जनकारी दिए ।

कानुनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको छ निरीक्षक भण्डारीले भने । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ ।

काठमाडौँ महानगरपालिकाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।

कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएको संरचना भत्काउन थालेको हो । कामपाले सुरु गरेलगत्तै कीर्तिपुर नगरपालिकाले पनि गत भदौ ९ गतेदेखि नक्साविपरीत निर्माण भएका संरचना भत्काउन थालिसकेको छ । सात दिनको सूचना सार्वजनिक गर्दा पनि नागरिकले आनाकानी गरेपछि अवैधरूपमा निर्माण भएका संरचना भत्काउन थालिएको कीर्तिपुर नगरपालिकाको उपप्रमुख एवं प्रवक्ता शुभलक्ष्मी शाक्यले जानकारी दिए ।

भक्तपुरको थिमी नगरपालिकाले पनि अवैध संरचना हटाउने काम सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै होइन उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई विस्तारै अनुशरण गर्न थालेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७९, शनिबार  २१ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।