प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनको तर्फबाट धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।
वारिसनामा मार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गराएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उम्मेदवारी दर्ता गराउन डा. आरजु देउवा हिजो नै डडेल्धुरा पुगेकी थिइन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाटै यो सातौं पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै झापा पुगेका थिए ।
झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल छन् ।
यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहेका छन् । उनीसँगै एमालेबाट क्षेत्र नं ५ प्रदेश (क) मा हिक्मतकुमार कार्की र प्रदेश (ख) मा होमबहादुर थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उनले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रस्तावक रहेका छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समर्थक रहेको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिए ।
चितवन–३ बाट निर्वाचन लड्ने या गोरखाबाट निर्वाचन लड्ने भन्ने लामो चर्चापछि अध्यक्ष दाहालले आज गोरखा–२ बाट उम्मेदवारी दिएका हुन् । अध्यक्ष दाहाल उम्मेदवारी दर्ताका लागि पूर्वप्रधानमन्त्री डा भट्टराई सहित, पार्टीका वरिष्ठ नेता श्रेष्ठ, पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डे सहितको टोली लिएर बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ (क) मा नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फडिन्द्र देवकोटा र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा (एमाले) बाट गोरखा क्षेत्र नं २ मा अब्दुस मियाँले उम्मेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वरिष्ठ नेता पौडेलको उम्मेदवारी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताए । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको उनको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । “देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व आवश्यक छ । सोही मागअनुरुप नै मेरो उम्मेदवारी हो”, पौडेलले भने ।
देशको समग्र विकास र स्थिर सरकारका लागि यस निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कार्यका विषयमा जनतासमक्ष पु¥याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गरे । पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आएका थिए । समय–समयमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणा सहित सहयोगको लागि मतदाता समक्ष अनुरोध गर्दै आइरहेका थिए । कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहो¥याको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ बाट उम्मेदवारी दर्ता
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राजविराजको मुख्य निर्वाचन कार्यालयमा आज उनले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले) सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
यादव विसं २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभाका २०६४ र २०७० को निर्वाचनमा भने उनी सुनसरी–५ बाट निर्वाचित भएका थिए ।
राजमो अध्यक्ष केसीद्वारा उम्मेदवारी दर्ता
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर आज अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै बागलुङ पुगेका थिए ।
सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक छन् । उनले पाँचदलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका हुन् । उनीसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
अर्थमन्त्री शर्माको रुकुम पश्चिमको प्रतिनिधिसभामा उम्मेदवारी
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् ।
त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छन् ।
कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उनले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिना मार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उनको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहेका छन् । पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उनी आफँै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिम्सिना मार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो ।
प्रतिनिधिसभा निर्वाचनः रुपन्देही–२ बाट एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन् । पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिए ।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताए । उनले पूर्वाधार सहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे ।
यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गरेका छन् । यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिएका छन् । रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका छ र सैनामैना नगरपालिकाका चार वटा वडा पर्छन् । यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् ।
पर्यटनमन्त्री श्रेष्ठद्वारा काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनको निजी सचिवालयले जनाएको छ । उनी विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीको अध्यक्ष समेत हुन् ।
शिक्षामन्त्री पौडेलले दिनुभयो बागलुङ-२ मा उम्मेदवारी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतले पछि पारेर विजयी भएका थिए । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले एक हजार नौ सय पाँच मत ल्याएका थिए ।
अघिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री पौडेल यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार छन् । यस क्षेत्रको प्रदेश क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस उपसभापति खड्काद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपसभापति खड्काले निर्वाचन अधिकृतको कार्यालय मेहेलकुनामा प्रतिनिधि मुकरर (वारेसनामा) मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
खड्काको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहेका छन् । निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले पार्टीको टिकट निर्वाचन आयोग, काठमाडौँबाट इमेल तथा र अन्य प्रमाणपत्रहरू प्रतिनिधि मार्फत प्राप्त भएको जानकारी दिए । खड्का सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् ।
नेकपा (एमाले) बाट धु्रवकुमार शाही, राप्रपाबाट छत्रमणि थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहम्मद अस्तक अलीले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
सुर्खेत–१ को प्रदेशसभा (क) मा सत्तारुढ गठबन्धनको तर्फबाट कांगे्रसका खड्कबहादुर पोखरेल र एमालेका ठम्मर विष्ट तथा प्रदेशसभा (ख) गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी, एमालेका डण्डीप्रसाद शर्मासहित सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत खनालका अनुसार प्रदेशसभाको यो क्षेत्रमा एमालेका निवर्तमान प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुर्खेत क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट कांगे्रसका हृदयराम थानी, एमालेका अमृतकुमार बिसीले मनोनयन दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेशसभा (क) मा गठबन्धनबाट कांगे्रसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेल, (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान विष्ट र एमालेका ताराकेशर गौतम, नेकपा (एकीकृत समाजवादी) का मोहन बडुवालको उम्मेदवारी दर्ता भएको छ ।
गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३ (क) प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३ (ख) बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिक विधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताए । आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाणले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उनले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्मालाई ¥याली सहित उम्मेदवारी दर्ताका लागि ल्याइएको थियो ।
यसैगरी नकेपा (एमाले) झापा जिल्ला इन्चार्ज अग्नि खरेलले प्रतिनिधि सभा सदस्यमै उम्मेदवारी मनोनयन गराएका छन् । उनको प्रस्तावकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाईँ र समर्थकका रूपमा पूर्व प्रदेश सदस्य श्रीप्रसाद मैनाली रहेका छन् ।
क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
कास्की क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट बराल र एमालेका भट्टराईको उम्मेदवारी
कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गर्नुभएको छ । उक्त प्रदेशमा प्रदेशसभा ९क० का लागि विश्वप्रकाश लामिछाने र ९ख० का लागि विन्दुकुमार थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईको उम्मेदवारी परेको छ भने प्रदेशसभा (क) का लागि भीम कार्की र (ख) का लागि मीना गुरुङको उम्मेदवारी परेको छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेदवारी परेको छ, भने हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा (क) का लागि चेतबहादुर महतको उम्मेदवारी परेको छ ।
उम्मेदवारी पछि प्रतिक्रिया दिँदै गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले नेपाली जनताको परिवर्तनको सङ्घर्षमा २०३६ सालयता आफू निरन्तर लागिरेको बताउँदै जनताको समृद्धि र विकासको चाहनालाई पूरा गराउन उम्मेदवार बनेको स्पष्ट पारे ।
एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले विभेदमुक्त समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव कँडेलले भ्रष्ट्राचार रहित समाजको निर्माण नै आफ्नो प्राथमिकतामा रहेको बताए ।
महोत्तरीमा शीर्ष नेताहरुको उम्मेदवारी दर्ता
महोत्तरीमा मुख्य दलका शीर्ष नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरेलले महोत्तरी–१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि दिउँसो २ बजे मनोनयनपत्र दर्ता गराएका हुन् । पोखरेल सत्तागठबन्धन दलका साझा उम्मेदवार छन् । मनोनयनपत्र दाखिला गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरु उपमहासचिव पोखरेलका साथ निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबास पुगेका थिए ।
सोही क्षेत्रबाट नेकपा (एमाले) का तर्फबाट लक्ष्मी महतोले वारेसमार्फत मनोनयनपत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले पुष्टि गरे ।
यसैगरी महोत्तरी–१ ‘क’ प्रदेशसभाका लागि हालकै प्रदेशसभा सदस्य शारदा थापाले एमालेबाट र मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले महोत्तरी–१ ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन ।
लोसपा नेपालका वरिष्ठ नेता शरदसिंह भण्डारीले महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज अपराह्न नै मनोनयनपत्र दर्ता गराएका छन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रका लागि धमाधम मनोनयनपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।
अबको एजेण्डा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने होः ऊर्जामन्त्री भुसाल
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य पदका लागि ललितपुरको क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् ।
ललितपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेल पुगेर उनले आज मनोनयन दर्ता गराएकी हुन् । उनी सहित पाँच दलीय गठबन्धका नेताहरू नेवारी झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधान कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन् । उनले अब आफ्नो मुद्दा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताइन् ।
मन्त्री भुसालले भनिन्, “संविधानको कार्यान्वयन र संस्थागत गर्ने प्रक्रिया हो । लोकतन्त्रलाई बलियो बनाउने प्रक्रिया हो । यो क्षेत्र मैले दुई पटक जितेको क्षेत्र हो । त्यसैले यही क्षेत्रमा जनताको, व्यवस्थाको सेवा गर्ने नयाँ प्रण गरेर उम्मेदवारी दर्ता गरेको छु ।”
उनीसँगै ललितपुर निर्वाचन क्षेत्र नं ३ को (क) बाट माओवादीका केन्द्रीय सदस्य राजकाजी महर्जनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् भने (ख) बाट नेपाली कांग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस नेता डा. कोइरालाद्वारा मोरङ ६ बाट उम्मेदवारी दर्ता
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उनले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराएका हुन् ।
कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ (ख) का लागि प्रदेशसभा सदस्यका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि मनोनयन दर्ता गराएका छन् । डा. कोइरालाले गठबन्धनको नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा बनेको सरकारले निर्वाचन पनि गर्ने भएकाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने विश्वास व्यक्त गरे ।
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आपसी सल्लाह, रणनीति र समन्वय हुने भन्दै डा कोइरालाले भने, “आसन्न निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । पार्टीको जग बसाल्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको विरोध गरेको हो, प्रतिनिधिसभा र प्रदेशसभाका लागि होइन, आसन्न निर्वाचनमा हामी हाम्रो गठबन्धनसँग मिलेर जाने हो ।” यसैगरी, मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले) का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका छन् ।
उनले सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जनताका चाहना अनुसार आफूले काम गरेकाले जनताले मलाई रुचाउने विश्वास व्यक्त गरे । जनताका चाहना नै मेरो निर्वाचनको एजेण्डा भएकाले आफू यस क्षेत्रको अब्बल उम्मेदवार भएको उनले प्रष्ट पारे ।
साथै, मोरङ निर्वाचन क्षेत्र नं ५ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएकी छिन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारको मनोनय दर्ताको काम सकिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।
उम्मेदवारको प्रतिबद्धताः राष्ट्र र जनहितमा काम गर्छौं
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलका नेताले पार्टीको चुनावी घोषणापत्रको प्रतिरक्षा गर्दै राष्ट्र र जनहितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई ठिक बाटोमा हिँडाउन र सङ्घीयता कार्यान्वयन गर्न कानून निर्माण गर्न आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिए ।
सोही क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार किरण पौडेलले राष्ट्रियता र स्वाभिमानको मुद्दामा आफ्नो पार्टी अब्बल रहेकाले मुलुककै राजनीतिको केन्द्रका रूपमा रहेको क्षेत्रबाट उम्मेदवार भई ती मुद्दा कार्यान्वयनमा ल्याकत र तागत देखाउने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले संसद् र सांसदलाई कानून निर्माणको भूमिकामा केन्द्रित गर्दै राष्ट्रियताको पक्षमा पनि सदनमा प्रखर रूपमा विषयवस्तु उठाउन आवश्यक रहेकाले उम्मेदवारी दिएको बताए ।
नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले आम जनताका बीचमा मुलुकमा कानूनी राज्यको अनुभूति दिलाउन तथा शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा देखिएका विकृति एवं विसङ्गतिका विषयवस्तु सदनमा उठाएर कार्यान्वयनका लागि हरसम्भव प्रयास गर्ने उद्देश्यले उम्मेदवारी दर्ता गराएको उल्लेख गरे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया