दशैंपछिको पहिलो कारोबार दिन साढे ४४ अंकले बढेको नेप्से दोस्रो दिनमा नै २७ अंकले घटेको छ ।
चुनावी सरगर्मीसँगै सेयर बजारमा सकारात्मक माहोलको संकेत देखिएपनि सोमबार भने सो अनुसारको निरन्तरता देखिएन । दशैंअघि र दशैंपछि बढेको बजारमा सोमबार क्रमभङ्ग भएको हो । नेप्से वृद्धि टिकाउ हुने स्पष्ट आधार र कारण नदेखिपछि अल्पकालीन लगानीकर्ताहरुको सेयर बिक्री गर्दा सूचकमा दबाबमा परेको हो । सुचक घटेपनि सोमबार आइतबारको तुलनामा कारोबार रकम बढेको छ ।
आज नेप्से सूचक २७.१६ अंकले घटेर १८७१.२२ अंकमा झरेको छ । यस दिन २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिन आइतबारको तुलनामा साढे १३ करोडले बढेको हो ।
आज सामुहिक लगानी कोष बाहेक सबै उपसमूहगत सूचक घटेका छन् । जलविद्युत, फाइनान्स र विकास बैंक उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरै घटेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको ६ करोड, नबिल बैंकको ४ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ५८ लाख र लुम्बिनी विकास बैंकको २ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अभियान लघुवित्तको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५०१ं९० रुपैयाँ पुगेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१ को ३.६७, ग्लोबल आएमई ब्यालेन्स्ड फण्ड–१ को ३.४९, एनआईसी एशिया फेल्क्सी क्याप फण्ड ३.२७ र उन्नत्ति सहकार्य लघुवित्तको २.६८ प्रतिशतले सेयरमूल्य बढेको छ ।
सोमबार गरिमा डिबेञ्चर २०८५ को सबैभन्दा धेरै ८.१३ प्रतिशतले मूल्य घटेको छ । सिभिल लघुवित्तको सेयरमूल्य ६.३३ प्रतिशत, १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को ५.८६, कर्णाली डेभलपमेन्ट बैंक ५.६० प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ५.३८ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ५.०६ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया