‘अम्रिसो’ सहित थप ९ वस्तुहरुको निर्यातमा नगद अनुदान

0
Shares

सरकारले निर्यातमा अनुदान दिने वस्तुहरुको सख्या वृद्धि गरेको छ । निर्यात प्रवद्र्धनका लागि लिएको अनुदान दिने बस्तुहरुको सूचिमा सरकारले थप ९ बस्तुहरुलाई पनि समावेश गरेको हो ।

सरकारले निर्यात अनुदान प्रदान गर्ने सम्बन्धि कार्यविधि २०७५ लाई संशोधन गर्दै ५ प्रतिशत अनुदान पाउने तीन बस्तुहरु थप गरेको छ । त्यसैगरी चार प्रतिशत अनुदान पाउने ६ वस्तुहरु थप गरेको छ । कार्याविधिको संशोधन पछि निर्यातमा ५ र ४ प्रतिशत अनुदान पाउने वस्तुहरुको संख्या १८/१८ पुगेको छ ।

निर्यातमा ५ प्रतिशत अनुदान पाउने गरी थप भएका बस्तुहरुमा दुग्ध जन्य पदार्थ, फलफुल र अम्रिसो रहेका छन । त्यसैगरी निर्यातमा चार प्रतिशत अनुदान पाउने नयाँ वस्तुहरुमा क्लिङकर, सिमेन्ट, स्टील, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड रहेका छन ।

कार्याविधि अनुसार शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादनको कुल निर्यात मूल्यमा ५ प्रतिशत नगद अनुदान उपलब्ध हुन्छ । त्यसो त चार प्रतिशत नगद अनुदान पाउनका लागि उत्पादित वस्तुको मूल्य अभिवृद्धि ३० प्रतिशतसम्म भएको हुनुपर्नेछ ।

त्यसैगरी सरकारले संशोधन गरेको कार्याविधि अनुसार ५० करोड भन्दा माथिको बस्तु तथा सेवाको निर्यात गर्दा अधिकतम ८ प्रतिशत निर्यात नगद अनुदान उपलब्ध हुनेछ । उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा परेको दबाब तथा चुलिँदो ब्यापारघाटालाई न्यूनीकरण गर्न सरकारले कार्याविधि नै संशोधन गरेर निर्यात प्रवद्र्धनमा नगद अनुदान दायरा बढाएको हो ।

कार्यविधि अनुसार मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ भने ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् । त्यसैगरी ७० प्रतिशत मूल्य अभिवृद्धि छ भने ६ प्रतिशत अनुदान पाउनेछन् । यस्तै राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गर्छ भने ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त गर्ने व्यवस्था कार्याविधिले गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार  १७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।