सरकारले विदेशी वस्तुहरूको आयातमा प्रतिबन्ध लगाए पनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौसम्म आइपुग्दा घटेर ११ खर्ब ८९ अर्ब १६ करोडमा खुम्चिएको छ। दुई महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति २६ अर्ब ६४ करोड रुपैयाँले घटेको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा ०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई नौ अर्ब ३५ करोड कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ। यदि वस्तु मात्रै आयात गरेमा नौ महिनासम्म वस्तु आयात गर्न सकिन्छ। चालू आवको दुई महिनामा विभिन्न मुलुकबाट दुई खर्ब ७३ अर्ब ६० करोड रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ।
भदौ महिनाको कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्थाहरूसँग एक खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ सञ्चिति रहेको छ।
०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया