दुई हजार बढी पर्यटक शनिबार एकैदिन पर्वत पुगे

0
Shares

तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजना सहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।

“एक साता अघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भने, “त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौं ।” उनले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताए ।

त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरी सहित तस्बिर कैद गर्दै थिइन् । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उनले बताए ।

पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।

तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताए । “कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उनले भने, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।”

शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति ५ सय तोकिएको छ ।

कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताए । “म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उनले भने, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  १६ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।