सोल्टी होटलले पर्यटकीय गतिविधि बढेपछि तीन महिनामै कमायो सवा ११ करोड खुद नाफा

0
Shares

सोल्टी होटलले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ११ करोड २० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल २ करोड ११ लाख ६६ हजार रुपैयाँ नोक्सानी ब्यहारेको थियो ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिक अवधिको अन्त्यमा कम्पनीको कार्यसम्पादनका नतिजाहरु उत्साहजनक रहेका छन् । देशभित्र हुने सभा, समारोह तथा गोष्ठीहरु आयोजनाको क्रम बढ्दा होटलको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो । यस्तै कोभिड संक्रमण कम हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा पनि वृद्धि हुँदा होटलको व्यवसायिक वातावरण समेत सुदृढ हुँदै जान थालेको हो ।

संयुक्त राष्ट्र संघ विश्व पर्यटन संकगठनको नवीनतम प्रतिवेदनले विश्व पर्यटनको ब्यारोमिटर सान् २०२२ को ७ महिनासम्ममा कोभिड महामारीको तुलनामा ६० प्रतिशतले वृद्धि भई निरन्तर सुधारोन्मुख छ । नेपालको अध्यागमन विभागको तथ्याङ्क अनुसार पनि चालु आवको साउन र भदौमा ८७ हजार विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएकाले पनि आगमी दिनमा पर्यटनले थप गति लिने होटलले जनाएको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को समीक्षा प्रथम त्रैमासिक अवधिसम्मका वित्तीय विवरणका नतिजा तथा कार्यसम्पादनका सूचांकहरुलाई विश्लेषण गर्दा होटेलका कार्यसम्पादनका तथ्यांकहरु अत्यन्त उत्साहजनक रहेका छन् ।  असोज मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल ४१ करोड ३२ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटलको कुल आम्दानी १२ करोड ३६ लाख ७८ हजार रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा व्यवसायबाट हुने आय १२ करोड ३६ लाख रुपैयाँ अर्थात २३४.१५ प्रतिशत बढेको हो ।

समीक्षा त्रैमासिक अवधिमा कम्पनीको कार्य सम्पादन, होटेल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी गतिविधिहरु कुशलतापूर्वक व्यावसायीक रणनीतिक कार्ययोजना अनुसार सञ्चालित रहे । यसले होटलको आम्दानी बढेको हो । जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दृढताकासाथ कार्यकुशलता प्रदर्शन गर्ने होटलेको व्यवस्थापकीय निपूर्णता, व्यावसायीक दक्षता तथा कार्यक्षमता प्रदर्शन गर्ने सबल व्यवस्थापनको कार्यदक्षता र व्यवसायीक व्यवहार निरन्तर जारी रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

सोल्टीले सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा २ करोड ११ लाख ६६ हजार रुपैयाँ नोक्सानी रहेकोमा चालु आवको सोही अवधिमा १२ करोड ६६ लाख ३३ हजार रुपैयाँ पु¥याएको छ ।  आम्दानी बढेसँगै समीक्षा अवधिमा सोल्टी होटलको प्रति सेयर आम्दानी वार्षिक ५.३२ रुपैयाँ र प्रति सेयर नेटवर्थ २१.५७ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा होटल प्रतिसेयर १ रुपैयाँ नोक्सानमा थियो भने प्रतिसेयर नेटवर्थ १६.७५ रुपैयाँमा झरेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ३८.१६ गुणा छ ।

आम्दानी मात्र होइन कम्पनीको खर्च पनि बढेको छ । कम्पनीको समग्र खर्चमा ९९.०८ प्रतिशतले वृद्धि हुँदै २८ करोड ६३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन खर्च १३७ प्रतिशतले बढेर ५ करोड ३४ लाख पुग्दा खाद्यान्न तथा पेय पदार्थको लागत १०७ प्रतिशत वृद्ध भई ६ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यस्तै कर्मचारी सुविधा ८० प्रतिशत बढेर ९ करोड ९ लाख, ह्रासकट्टी तथा प्रशासनिक तथा अन्य खर्चका शीर्षक २२५ प्रतिशत बढेर ४ करोड ९७ लाख रुपेयाँ पुगेको छ ।

समीक्षा त्रैमासिक अवधिमा कम्पनीको खर्चहरुमा पूर्णतः मितव्ययीता अपनाई अनावश्यक तथा तत्कालका लागि आवश्यक नभएका खर्चहरुमा कटौति गर्ने, सशक्त बजार व्यवस्थापन, सुदृढ़ उच्च व्यवस्थापन तथा होटेल व्यवस्थापनका सबै आयामहरुलाई चुस्त तथा दुरुस्त पारिएको र आगामी दिनमा समेत सो कार्य निरन्तर जारी रहने होटलले जनाएको छ ।

होटलको व्यवस्थापकीय कार्यकुशलता तथा प्रतिकुल परिस्थितिमा काम गर्न सक्ने कार्यकौशलता रणनीतिक कार्यक्षमता र व्यवस्थापकीय सुझबुझका साथ व्यावसायीक कार्यसम्पादन गर्ने कार्यदक्षताका कारण कम्पनीको मौज्दात, कार्यशील पुँजी र तरलताको अवस्था सन्तोषजनक रहेको छ ।

दश रुपैयाँ अंकित दरमा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ छ । होटलको सञ्चित मुनाफा र जगेडा कोषको आकार ९९ करोड ८७ लाख रुपैयाँ छ । गत आवको नाफाबाट ५ प्रतिशत बोनस सहित कुल २६.३२ प्रतिशत लाभांश वितरणपछि कम्पनीको जगेडा कोषको आकार भने अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.७० प्रतिशत घटेको हो । अघिल्लो आवको सोही अवधिमा रिजर्भ कोषमा ५६ रोड ८४ लाख ५१ हजार रुपैयाँ मात्र थियो ।

आर्थिक वर्ष २०७९÷८० को आगामी दोश्रो त्रैमासिक अवधिमा कम्पनीको व्यावसायिक गतिविधिहरुको सन्दर्भमा विश्व पर्यटनका गतिविधिहरुमा समेत उल्लेख्य अभिबृद्धि भई विश्वको अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा समेत महत्वपूर्ण वृद्धि भईरहेको होटलले जनाएको छ । चीन बाहेक विश्वको अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक एयरलाइन्सहरुका अन्तर्राष्ट्रिय व्यवसायीक उडानहरु समेत नियमित रुपमा सञ्चालित हुन थालेको परिप्रेक्ष्यमा नेपालको पर्यटनले पनि गति लिने होटलको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।