शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा १३ करोड ४८ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमासमा २२ करोड ३३ लाख ९२ हजार आम्दानी गरेको कम्पनीले ८ करोड ८४ लाख ९४ हजार रुपैयाँ खर्च गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ०.९३ प्रतिशतले वृद्धि भएको हो । खुद बीमाशुल्क संकलनसँगै कम्पनीको नाफा पनि बढेको हो ।
असोजसम्म कम्पनीले ४५ करोड १८ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको पहिलो त्रैमासमा ४४ करोड ५० लाख ३८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा १.५४ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो ।
यस्तै शिखरले लगानी कर्जा तथा अन्य आयबाट ७ करोड ५३ लाख ९६ हजार रुपैयाँ, पुनर्बीमा कमिशन वापत १६ करोड ४३ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको शिखरको प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ कायम भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.३४ रुपैयाँ कम हो । चुक्ता पुँजी ३० प्रतिशतले बढेपछि इपिएसमा दबाब परेको हो ।
कम्पनीको जगेडा कोषको आकार साढे १८ प्रतिशत बढेर ७५ करोड ७१ लाख १७ हजार रुपैयाँ, बीमा कोष ८.६० प्रतिशत बढेर १ अर्ब ४७ करोड ९० लाख ७६ हजार रुपैयाँ र महाविपत्ती कोष १.१३ प्रतिशत घटेर १३ करोड ८ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ ।
असोजसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २१०.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.७८ गुणा छ ।
अवधिमा कम्पनीको कुल बीमाशुल्क एक अर्ब २ करोड रुपैयाँ संकलन गरेको छ । कम्पनीले ६१ हजार ५८५ वटा बीमालेख जारी गरेकोमा २१ हजार ५२१ बीमालेख नविकरण भएका छन् ।
असोजसम्म कम्पनीले ४ हजार ७३० वटा दाबी वापत ४७ करोड ५ लाख ४८ हजार रुपयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अब १७ हजार ६५७ वटा दाबी वापत परेको २ अर्ब ६१ करोड १ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
गत आवको सोही अवधिमा शिखरले ३ हजार ६१४ वटा दाबी वापत ४७ करोड २७ लाख १२ हजार रुपयाँ दाबी भुक्तानी गरेको थियो । सो समयमा कम्पनीले १३ हजार ३८७ वटा दाबी वापत परेको २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया