नेप्से यो साता साढे २७ अंकले बढ्यो

0
Shares

सेयर बजार मापक सूचक नेप्से यो साता १.४२ प्रतिशत अर्थात २७.५१ अंक बढेको छ । आइतबार १९३३.५५ बिन्दुमा कारोबार खुला भएको नेप्से यस साता बढेर १९६१.०६ बिन्दुमा पुगेको हो ।

यस साता नेप्से परिसूचक तीन कारोबार दिन बढ्यो भने दुई कारोबार दिन घट्न पुग्यो । नेप्से बढेसँगै कारोबार रकम १०१ प्रतिशत बढेर ६ अर्ब ६४ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत साता ३ अर्ब ३० करोडको कारोबार भएको थियो । यो साता १ करोड ६७ लाख ९६ हजार ६९६ कित्ता सेयर १ लाख १० हजार ९५७ वटा संख्यामा खरिद बिक्री भएका छन् । गत साता ९१ लाख ७२ हजार ४३८ कित्ता सेयर ६० हजार ६१४ वटा संख्यामा खरिद बिक्री भएको थियो ।

सातामा केन्द्रीय बैंकले सेयर बजारमैत्री मौद्रिक नीति सार्वजनिक गर्ने अपेक्षाले बजार बढ्दा कारोबार पनि सोही अनुसार बढेको थियो । तर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सकारात्मक प्रभाव पार्न नसकेपछि बजार पुनः ओरालो लाग्न पुग्यो ।

नेप्से बढेसँगै यो साता सेयर बजारको कुल बजार पूँजीकरण पनि ३९ अर्ब ५७ करोड ५१ लाख रुपैयाँले बढेर २८ खर्ब २० अर्ब ८७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बजार पुँजीकरण १.४० प्रतिशत बढेको हो । गत साता २७ खर्ब ८१ अर्ब २९ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये यस साता म्युचुअल फण्डबाहेक सबै बढेका छन् । लघुवित्त सर्वाधिक ३.५७ प्रतिशत बढ्दा ब्यापार २.६० तथा बैंकिङ्ग, विकास बैंक, हाइड्रोपावर र जीवन बीमाको इडेक्स पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ । यस साता म्युचुअल फण्ड भने ०.८१ प्रतिशत घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।