एनआईबिएल एस क्यापिटल लिमिटेडले ईकमर्स कम्पनी सस्तोडिलमा लगानी गरेकाे छ । क्यापिटल र सस्तोडिलका बीच मंसिर १९ गते सार्वजनिक निष्काशनको उद्देश्यका साथ लगानी सम्झौतामा हस्ताक्षर भएको हाे । यो लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्ने जनाइएको छ ।
सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् ।
“ईकमर्सले संसारभरिका विभिन्न मूलूकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कुरा कम्पनीले आफनो १० वर्षिय इतिहासमा प्रमाणीत गरेको छ ।” एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, “इकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ । उक्त कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसँग सम्झौता गरि अगाडि बढ््रदा, सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कुरामा हामी विश्वस्त छौं ।”

उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले भ एनआईबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । एनआईबिएलको नेपालभरको नेटवर्क, बैंंकिङ्ग, भुक्तानी प्रणाली आदिको सञ्जाल तथा विशेषज्ञता र पुँजी समेतको समायोजनले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउनेछ । उनले भने, “हाम्रा अन्य मुख्य लगानीकर्ताहरू–डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमई समूहसँगै अब एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र विदेशमा समेत परिचित ब्रान्डको रुपमा स्थापित हुने लक्ष्यमा छाैं ।”
कार्यक्रममा सहभागी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सीईओ टिम गोचरले आफ्नो विचार राख्दै भने, “एनआईबिएलएसको लगानीले सस्तोडिलको सम्भावनालाई प्रकाश पार्नुको साथै स्थानीय स्तरमा हुने लगानीले सस्तोडिलको ब्यवसाय वृद्धिमा थप टेवा पुग्नेछ । हामी एनआईबिएल एस क्यापिटल लिमिटेड र कम्पनीका उत्कृष्ट ब्यवस्थापन समुहलाई लाई स्वागत गर्दछौं । ”
सस्तोडिलको प्ल्याटफर्महरुका १ करोड भन्दा बढी प्रयोगकर्ताहरूका साथै फ्ल्पि कार्ट तथा मिन्त्रा जस्ता अन्र्तराष्ट्रिय ख्याति प्राप्त रणनीतिक साझेदारहरू रहेका छन् । साथै लाखौं ग्राहकहरू, सयौं ब्रान्डहरू र विक्रेताहरू समेत आवद्ध छन् । कम्पनीले युएनसीडिएफ सँगको सहकार्यमा नेपालभरका ३ हजार ५०० अति साना र साना तथा मझौला उद्योगहरु लाई सूचना मैत्री बनाउन साझेदारी गरेको छ । कोभिड १९ पछि,सस्तोडिलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समेत सहकार्य गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।।










प्रतिक्रिया