फेडको नीतिगत बैठक अघि ओरालो लाग्यो एशियाली सेयर बजार

0
Shares

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) को नीतिगत बैठक बस्नु अघि नै एशियाली सेयर बजार ओरालो लागेको छ ।

डिसेम्बर महिनामा ब्याजदर वृद्धि गर्ने वा नगर्ने सम्बन्धमा गरिने बैठक सुरु हुनु अघि नै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा सेयर बजार खस्किएको हो ।

जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रका देशहरुको बृहत सेयर सूचाङ्क एमएससीआई १ प्रतिशतले घटेको छ । यसैगरी हङकङको सेयर सूचाङ्क ह्याङस्याङ १ प्रतिशतले ओरालो लागेको छ भने चीनको ब्लु चीप सेयर सूचाङ्क ०.५ प्रतिशतले खस्किएको छ ।

यसका साथै एसएन्ड पी–५०० सेयर सूचाङ्क ०.२ प्रतिशत र नास्डाक फ्युचर्स ०.३ प्रतिशतले घटेको छ । चीनले शून्य कोभिड–नीति खुकुलो बनाउँदा सकरात्मक देखिएको ब्लुचीप सूचाङ्क फेड बैठक बस्नु अघि कमजोर देखिएको हो । यसैगरी अमेरिकाको मुद्रास्फीति दरमा आएको सकरात्मक सुधारका कारण लगानीकर्ताहरुको मनोबल उच्च हुँदा विश्व सेयर बजारमा सकरात्मक सुधार देखिएको थियो । तर नोभेम्बर महिनाको मुद्रास्फीति दर सार्वजनिक नहुँदासम्म फेडले लिने निर्णय स्पष्ट नहुँदा लागनीकर्ताहरुको मनोबल कमजोर भएको छ ।

नोभेम्बर महिनामा अमेरिकाको मुद्रास्फीति दर ६.१ प्रतिशत रहने र फेडले आगामी बैठकमा ०.५ प्रतिशतका दरले फेडले ब्याजदर बढाउने अर्थशास्त्रीहरुले अनुमान गरिरहेका छन् ।

सेयर लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा उनीहरुले पुनः डलरमा लगानी बढाएका छन् । जसकारण डलर पुन शक्तिशाली बन्न पुगेको छ । डलर र पाउन्ड स्ट्रलिङको विनिमयमा आज पाउन्ड स्ट्रलिङ ०.३५ प्रतिशत कमजोर रहेको छ । आज एक पाउन्ड स्ट्रलिङ बराबर १.२२ डलरमा विनिमय भइरहेको छ ।

यसैगरीे अमेरिकी डलरसँगको बिनिमयमा अष्ट्रेलियन डलर ०.५ प्रतिशत कमजोर देखिएको छ । आज एक अष्ट्रेलियन डलर बराबर ०.६७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपालको सन्दर्भमा प्रि–ओपनिङमा नेप्से सेयर सूचाङ्क ०.०४ प्रतिशतले बढेको छ । आज एक डलर बराबर १३१.९४ नेपाली रुपैयाँमा डलर र रुपैयाँ विनिमय भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।