नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय वीरगञ्जमा उद्घाटन

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मधेश प्रदेशको वीरगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन् ।
यसअघि सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरिसकिएकोमा सोमबार मधेश प्रदेशमा विस्तार गरिएको हो ।

प्रदेश कार्यालयहरुबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुनेछन् ।

न्यून आय भएका वर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्छः अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कार्यक्रमलाई सम्बोधन गर्दै ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका न्यून आय भएका वर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवं पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउँदै पालिकाका कामहरूसँग आबद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे । उनले  प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न अनुमति दिएका लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकांश सेवाहरु सेवाग्राहीले प्राप्त गर्नसक्ने जानकारी दिए ।

किसानसम्म बीमाको पहुँच पुग्नुपर्छः वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए । प्रमुख सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमाप्रतिको विश्वास बढाउनका लागि समयमैं दाबी भुक्तानी हुनुपर्ने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरू मागेर हैरान पार्ने गरेको गुनासो गरे ।  जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटोछरितो रूपमा दिन निर्देशन दिँदै आएको र सोही अनुसार हाल दाबी भुक्तानी सामान्यीकरण हुँदै गएको बताए ।

मधेश प्रदेशमा ९.२०% मात्र बीमाको दायरामा, कृषि तथा बाली बीमा ६.७५ प्रतिशत

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले २०७९ साल असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९.२० प्रतिशत रहेको बताए । यस्तै उनले निर्जीवन बीमातर्फ कूल कृषि तथा बाली बीमामध्ये ६.७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको पाइएको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमा अन्तर्गत कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, उद्योगी व्यवसायीहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारी, नेपाल बीमक संघका प्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।