लाभांशले पनि लगानीकर्तामा फर्किएन उत्साह, निराशाजनक कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणाका साथै वार्षिक साधारण सभा आह्वान गर्ने क्रम चलिरहँदा पनि सेयर बजारका लगानीकर्तामा पटक्कै उत्साह छाउन सकेको छैन ।

सूचीकृत कम्पनीहरुले आशातित लाभांश वितरण नगर्दा सेयर बजारको रौनक हराएको हो । सूचीकृत धेरै जसो कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन, केहिले साधारण सभा आह्वान गरेका छन कतिपयले साधारण सभा सकेर लाभांश समेत वितरण गर्न थालिसकेका छन।

पछिल्लो समयमा लगानीकर्ताको मनोबल खस्कदा लाभांशको सिजनमै एक अर्ब बराबरको कारोबार हुन समेत मुस्किल देखिएको छ । पछिल्लो तिन दिन यता कारोबार रकम एक अर्ब तल झरेको छ । अहिलो औषतमा ८० करोड बराबरको सेयर किनबेच हुन थालेको छ । यसले सेयर बजारका लगानीकर्ताहरुले कम्पनीहरुले घोषणा गरेको लाभांश नरुचाएको प्रष्ट बुझिन्छ ।

बुधबार नेप्सेमा सामान्य गिरावट देखिएको छ । आज नेप्से ५.८९ अंकले घटेर एक हजार ८ सय ६७ दशमलव २२ विन्दुमा झरेको छ । बुधबार ८६ करोड ३८ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । मंगलबार नेप्से १४.२२ अंकले बढेको थियो । 

कारोबार भएका कम्पनीमध्ये ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आँधिखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दा सृजनशीलको ९.९९ प्रतिशत, इस्र्टन पावरको ९.९९ प्रतिशत, घलेम्दी पावरको ९.१४ प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा पञ्चकन्या पावरको मुल्यमा सर्वाधिक गिरावट आएको छ । पन्चकन्या माई हाइड्रोपावरको मूल्य ६ प्रतिशत घट्यो । एनआइसी एसिया बैंकको सर्वाधिक ११ करोड ८२ लाखभन्दा बढीको कारोबार भएको भयो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । नबिल बैंक, शिवम सिमेन्ट, हिमालयन डिस्टिलरी र सोल्टी होटल धरे कारोबार हुने कम्पनीको अग्रपक्तिमा रहेका छन ।

बुधबारको बजारमा १३ उपसमूहमध्ये बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०।२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।