महालक्ष्मी विकास बैंकले एजीएमबाट रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव पारित गर्दै

0
Shares

महालक्ष्मी विकास बैंकले रणनीतिक साझेदारका रुपमा भित्र्याउने भएको छ । बैंकले आगामी वार्षिक साधारण सभा मार्फत उक्त बाटो खुला गर्न लागेको हो । पुस २९ गते बोलाइएको २१ औं वार्षिक साधारण सभामा बैंकले उक्त प्रस्ताव समावेश गरेको छ ।

सभामा नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिई विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रुपमा भित्र्याउने तथा विदेशी बैंक वा अन्य उपयुक्त संस्थालाई बैंकको सेयर बिक्री वा हस्तान्तरण गर्न सकिने भनी प्रबन्धपत्रको दफा ७ (झ) लाई संशोधन गर्ने र उक्त संशोधन भएपछि रणनीतिक साझेदार ल्याउनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको कार्यान्वयन गर्न गराउन बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखेको छ ।

यस्तै सभाले गत आर्थिक वर्षबाट सेयरधनीलाई साढे १० प्रतिशत लाभांश बाँड्ने भएको छ । सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०७८–७९ बाट प्रस्तावित चुक्ता पुँजीको कुल १०.४७ प्रतिशत लाभांश सभाबाट अनुमोदन हुनेछ । बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र करसहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

यस्तै सभाबाट गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

बैंक सञ्चालक समितिको पुस ७ गते बिहीबार बसेको बैठकले पुस २९ गते काठमाण्डौ लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजे २१ औँ वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १८ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १४ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।