सेयर बजारले रुचाएको अर्थमन्त्री आएपछि बजारमा उत्साह

0
Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि सोमबार एकाएक सेयर बजारमा उत्साह छाएको छ । पौडेलको यसअघिका अर्थमन्त्री बन्दाको रेकर्ड हेर्दा हरेक पटक उच्चतम बिन्दुमा नेप्से पुगेकाले पनि सेयर बजारका लगानीकर्ताको आत्मबल फर्किएको हो ।

पौडेल ओली नेतृत्वमा अर्थमन्त्री रहँदा २०७३ साउन १ गते सेयर बजारले १८८० अंकको सर्वाधिक अंकको रेकर्ड बनाएको थियो । यस्तै २०७४ सालको निर्वाचनमा एमाले फेरि नेतृत्वमा आयो । एमालेका डा. युवराज खतिवडा अर्थमन्त्री बने । १८८० अंकको सर्वाधिक अंकपछि घटेर ११ सयबिन्दुसम्म झरेको बजारले एमाले सरकारकाे पालामा २०७८ को सुरुवाती महिनामा २६८० बिन्दुमा पुग्यो । राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएपछि तत्कालीन अर्थमन्त्री खतिवडाले २०७६ फागुन २० गते मन्त्री पदबाट राजीनामा दिए । त्यसलगत्तै विष्णु पाैडेल अर्थमन्त्री बने । फेरि २०७८ भदौ २ गते नेप्सेले ३१९८ को अर्को उच्चतम बिन्दु कायम गरेको थियो ।

जतिजति बेला अर्थमन्त्रीमा पौडेले आएर अर्थमन्त्रालयको बागडोर सम्हाले सेयर बजारले उच्चतम बिन्दु कायम गरेकाले अहिले पनि पौडेको अर्थमा पुनरागमनले सेयर बजार तातेको छ । सोमबार नेप्से आधा शतक बढी अर्थात ५६.८६ (३.०५ प्रतिशत) बढेर १९२४.०७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ४ बाहेक सबै कम्पनीको भाउ बढेको बजारमा सबै उपसमुहगत सूचक हरियो बनेका छन् ।

यस्तै कारोबार रकम २ अर्ब नाघेको छ । आज २५० कम्पनीका ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएका छन् । आज नेपाल टेलिकमको सर्वाधिक २० करोड ८८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । कारोबारमा आएका १२ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बजार बढेसँगै सेयर बजारको कुल बजार पुँजीकरण ८२ अर्ब २५ करोड रुपैयाँ बढेर २७ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । 

नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको हो । नेप्से परिसूचक ५६.८८ अङ्क र ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ ८.३८ अङ्कले उकालो लागेर ३७५.४५ अंकमा पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै सेयर मूल्यमा गिरावट आएको छ । यस्तै १२ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कारोबार भएका कम्पनीमध्ये २०३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त छन् । रिलायन्स फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । यस्तै नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ५.५६, सिवासी नेपाल लघुवित्तको सेयर मूल्य ४.६७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो २.१३, सिद्धार्थ बैंकको ऋणपत्र २ प्रतिशत र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।