सेयर बजारमैत्री अर्थमन्त्रीको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेपछि पछिल्लो दुई दिनमा बढेको सेयर बजारबाट मंगलबार नाफा सुरक्षित गर्ने होडले नेप्से दोहोरो अंकले घटेको छ ।
सोमबार र मंगलबार गरी दुई दिनमा नेप्से ११७ अंकले बढेको थियो । अल्पकालीन लगानीकर्ताहरुले मंगलबार प्रोफिट बुकिङ्ग गर्दा बजार सूचक नेप्से ११.८१ अंकले घटेको हो । गिरावटसँगै नेप्से १९७२.१५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इण्डेक्स पनि बुधबार ४.७२ अंकले घटेर ३८१.३२ बिन्दुमा झरेको छ ।
नेप्सेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७३ करोड ९ लाख रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोड ४४लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । बुधबारको बजारमा भने २५७ कम्पनीका ६५ लाख ३० हजार ४१५ कित्ता सेयर ३९ हजार ६६० पटकको कारोबारबाट २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २१० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
बजार घटेपनि बुधबारको बजारमा आधा दर्जन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको बजारमा रोक्का रहेर आजै कारोबार खुलेका सेन्ट्रल फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्स सहित अन्य चार कम्पनीहरु धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त र विन नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सर्किटपछि सेन्ट्रल फाइनान्सको सेयरमूल्य ३२२.३० रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सको ३९२.७० रुपैयाँ, धौलागिरी लघुवित्तको ९५०.७०, खप्तड लघुवित्तको ८३८.८० रुपैयाँ, श्रृजनशील लघुवित्तको १६०४.७० रुपैयाँ र विन नेपाल लघुवित्तको १०३८ रुपैयाँ पुगेको छ । यस्तै तेह्रथु पावर, सिटिजन म्युचुअल फन्ड–१, साहस उर्जा लिमिटेड र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता बुधबारको कारोबारमा महुली लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.२० प्रतिशत घटेर १०२० रुपैयाँमा झरेको छ । त्यसैगरी, अजोड इन्स्योरेन्सको सेयरमूल्य ४.०६, सामुदायिक लघुवित्त ३.९३ प्रतिशत, नाडेप लघुवित्त ३.६५ प्रतिशत र ओरियन्टल होटल ३.६४ प्रतिशतले सेयरमूल्य घटेको छ । घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी, बरुण हाइड्रोपावर, न्यादी हाइड्रोपावर र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले ३ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । रिडी पावर कम्पनीको ८ करोड ५ लाख, अपर तामाकोशी ७ करोड ८४ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २४ लाख र प्राइम कमर्सियल बैंकको ५ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ५ बढेको छ भने ८ वटा घटेको छ । यस दिन होटल तथा पर्यटन सर्वाधिक २.१९ प्रतिशत घट्दा लघुवित्त, लगानी, बैंकिङ्ग, ब्यापार, विकास बैंक, , उत्पादन तथा प्रशोधनमुलक र अन्यको इन्डेक्स ऋणात्मक बनेको छ । हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फन्डको सूचक भने बढेको छ । हाइड्रोपावरको सूचक सर्वाधिक ०.७१ प्रतिशतले बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया