संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधार्न सबैले सहकार्य गर्नुपर्छः अर्थमन्त्री पौडेल

0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधार गर्न सरोकारवाला सबैले सकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गईनसकेको बताउँदै अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि सबैले प्रयास गर्न आवश्यक रहेकाे धारणा राखेका हुन् ।  उनले अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रलाई एक-एक वटा इँटा थप्न आग्रह समेत गरे ।

पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे। उनले भने ‘अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिस ह्याण्डलिङ पक्कै भएको हो । यद्यपि सावधानिक रुपमा ठिक ढंगले अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौ ।’ उनले थपे ‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।’

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले अर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाई छ । सबल अर्थतन्त्र निर्माणका लागि एक एक इँटा थप्दै जाने काम गर्नु पर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे । संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक÷एक वटा इँटा थप्ने काम गर्न उनले आग्रह समेत गरे ।

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिँदैं अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरुले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सूचना उपलब्ध गराइदिन आग्रह गरे ।

अध्यक्ष ढकालले भने ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ ।’

पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए । त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।