कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार ५०० कित्ता सेयर खरिद गरेको छ ।
प्रदेश सरकारले आयोजनाको ५ प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार ५०० कित्ता सेयरको प्रमाणपत्र हस्तान्तरण गरे । सेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युतको प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए ।
“गत साउनमै प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो,” उनले भने, “सेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ ।” प्रदेश सरकारले प्रतिशेयर १०० रुपैयाँका दरले ११ करोड ७१ लाख ५० हजार सेयर बापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

प्रदेश सरकारले करिब ३६ करोड रुपैयाँ रकम खर्चनु परेको भन्दै त्यसबाट आउने राजस्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने बताए । उनले भने, “आयोजनाले प्रतिदिन १ करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले ५ प्रतिशत अर्थात ५ लाख रुपैयाँका दरले मासिक रुपमा १ करोड ५० लाख कमाउँछौँ ।” सेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन स्रोत हुने उनको भनाइ छ ।
आयोजना प्रमुख सापकोटाले कर्णाली प्रदेश सरकारले खरिद गरेको सेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताए । आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।
काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१० किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने छ । आयोजनामा अनुमानित १९ अर्ब ९० करोड रुपैयाँ लगानी हुनेछ भने भने आयोजनाले १०६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया