घोराही सिमेन्टको आइपीओमा आवेदन दिने म्याद थप


घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि सर्वसाधरणको लागि प्रिमियममा निष्काशन गरेको आईपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रर्याप्त मात्रामा आवेदन प्राप्त भएतापनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकाले समय थप गरिएको कम्पनीले जनाएको छ । निष्काशन अवधिमा यथोचित संख्यामा प्रमाणित आवेदन प्राप्त भएमा भने असार १४ गतेभन्दा अगावै निष्काशन बन्द हुनेछ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई बाँडफाँड गरेपश्चात बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ करोड ११ लाख ६७ हजार रुपैयाँ बराबरको ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ ।

त्यसैगरी, इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।