तनहुँका ४२ हजार घरधुरी स्वास्थ्य बीमामा आबद्ध

0
Shares

तनहुँका ४२ हजार ७५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ।

सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ ।

जिल्लामा पहिलो वर्ष आठ हजार सात सय ५१, दोस्रो वर्ष नौ हजार ४३, तेस्रो वर्ष १७ हजार तीन सय ८९, चौथो वर्ष सात हजार पाँच सय ७२ र चालु आर्थिक वर्षमा दुई हजार दुई सय ११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताए ।

आव २०७४/७५ बाट लागू भएको उक्त कार्यक्रम अन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ बुझाएर बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप ७०० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रावधान छ ।

सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो तर स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ ।

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

बैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मङ्सिर १ गते, कात्तिक मङ्सिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।