कालिञ्चोक दर्शनको आईपीओमा १०.३० गुणा आवेदन

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा दोस्रो दिनसम्म मागको तुलनामा १०.३० गुणा बढी आवेदन परेको छ । माघ ३ गतेदेखि सेयर बिक्रीमा ल्याएको कम्पनीको सेयरमा बुधबार साँझ ४ बजे सम्ममा करिब ८ लाख वटा आवेदन परेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार ४ बजेसम्म ७ लाख ८४ हजार ६३२ आवेदनबाट ९२ करोड ३६ लाख ९५ हजार मूल्यको ९२ लाख ३६ हजार ९५० कित्ता सेयरको माग परेको हो ।

पहिलो दिन मंगलबार साँझसम्म मागभन्दा ३.७६ गुणा बढी अर्थात ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ७० हजार ८९० कित्ता शेयर खरीदको लागि आवेदन परेको थियो । उक्त अवधिमा २ लाख ८२ हजार २६८ जना आवेदकहरूबाट सेयर माग भएको थियो ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत ८ लाख ९६ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट माग गरेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरेको छ ।

बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ माघ ६ गतेसम्म मात्र खुला रहनेछ । सर्वसाधारणलाई कुल १२ करोडको आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ कायम हुनेछ ।

कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट करीब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा २०७५ कात्तिक १७ गतेदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालन गर्दै आएको छ । केबलकार ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म सञ्चालनमा छ । कम्पनीले केबलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्युजमेन्ट पार्क लगायत परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने ‘केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार  १८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।