चालु आवको ६ महिना अर्थात साउनदेखि पुसमसान्तसम्म १४५ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन्।।
उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । यस अवधिमा ३९ वटा ठूला उद्योग, ४१ वटा मझौला तथा ६५ वटा साना उद्योगहरु दर्ता भएका हुन् ।पछिल्लो ६ महिनाको अवधिमा भएका १४५ नयाँ उद्योगले कम्तीमा ९ हजार ८१६ जनालाई रोजगारी प्राप्त हुने बताइएको छ ।
गत वर्ष यो अवधिमा १५५ वटा उद्योग दर्ता भएको थियो। गत वर्षको यसै अवधिको तुलनामा कुल १० वटा कम उद्योग दर्ता भएका छन् । विभागका अनुसार गत वर्षको यसै अवधिमा ४६ वटा ठूला उद्योग, ५७ वटा मझौला तथा ५२ वटा साना उद्योगहरु दर्ता भएका थिए । यी उद्योगबाट १ खर्ब ९० अर्ब लगानी प्रतिबद्धता आएको थियो यो वर्ष गत वर्ष भन्दा ५१ अर्बले लगानी प्रस्ताव कम आएको हो।
विभागका अनुसार हालसम्म नेपालमा ८ हजार ९०९ उद्योग दर्ता भएका छन् । पुस मसान्तसम्ममा १ हजार ३४४ ठूला उद्योग, २ हजार ५८ मझौला तथा ५ हजार ५०७ साना उद्योगहरु दर्ता भएका छन् । यी उद्योगहरुमा कुल २७ खर्ब ६६ अर्ब लगानी प्रस्ताव प्राप्त भएको छ ।
विभागका अनुसार यस अवधिमा १३१ विदेशी उद्योगको कुल १७ अर्ब ३० करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ। जसमा ठूला २, मझौला १९ साना ११० वटा उद्योगहरु रहेका छन । विदेशी लगानी स्वीकृत भएका उद्योगहरुबाट ७ हजार ८४१ जनाले रोजगारी पाउनेछन।
गत वर्षको यहि अवधिमा १२९ विदेशी उद्योगको कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको थियो। गतवर्षको तुलनामा १३ अर्ब बढीले विदेशी लगानी घटेको छ ।
नयाँ व्यवस्थानुसार पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम पाँच करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया