सरकारले सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरु मार्कामा परेको पूर्वमन्त्री एवं सांसद् प्रदीप यादवले बताएका छन् ।
शुक्रबार वीरगञ्जमा आयोजित रूँगटा वेलफेयर सोसाइटीको ११ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवले उद्योगी व्यवसायीहरु मार्कामा परेर आफ्नो ज्यान लिने अवस्था पुग्दासमेत सरकारले सही नीति अवलम्बन नगर्नु दुःखद् भएको बताए ।
सांसद् यादवले भने, ‘ब्याङ्कले बढाउँदै गएको चर्को व्याजदरको कारण उद्योगी र व्यवसायी पिडामा छन् । आफ्नो ज्यान लिने अवस्थामा पुगिसकेका छन् । राज्यले केही गम्भीर कदम उठाउन आवश्यक छ । हाल राज्यको काम गर्ने प्रणाली कमजोर छ । सुधार नल्याए निश्चित रुपले देश ठूलो सङ्कटमा पर्छ ।’
ब्याङ्कले बदमासी गरिरहेको अवस्थामा नेपाल सरकारका गभर्नरले पनि उनीहरुको साथ दिरहेको यादवले आरोप लगाए । ‘ब्याङ्कहरुले ढाड सक्ने किसिमले व्याजदर बढाएका छन् । उद्योगीदेखि साना व्यवसायीसमेत सरकारसँग हार गुहार गरिरहेका छन् । यस्तो अवस्थामा गभर्नरले ब्याङ्को पक्षमा बोलिरहेका छन् । यो भन्दा ठूलो दुर्भाग्यपूर्ण कुरा के हुनसक्छ’, पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले भने ।
उनले राज्यले विदेशीहरुबाट चर्को दरमा ऋण उठाएर अनावश्यक लगानी गर्दै नागरिकमाथि आर्थिक भार थपेको आरोपसमेत लगाए । पोखरा र भैरहवा विमानस्थलको उदाहरण दिँदै उनले भने, ‘अध्ययन, अनुसन्धान र दुरगामी सोचनै नराखी चर्को व्याजदरमा अन्य मुलुकसँग ऋण लिएर आज हामीले पोखरा र भैरहवामा ठूलाठूला विमानस्थल त बनायौँ तर आज त्यहाँको अवस्था के छ, त्यो कसैसँग लुकेको छैन । निजगढ विमानस्थलमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले भविष्यनै नभएको ठाउँमा त्यत्रो लगानी गरेर नागरिकमाथि आर्थिक भार थप्ने बाहेक कुनै काम गरेको छैन। म लेखेर दिन्छु दुवै विमानस्थल फेलियर हुन्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सादस्य एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा। सुवोधकुमार गुप्ता, सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्य, महासङ्घका केन्द्रीय सदस्य गोपाल केडियालगायतले शुभकामना मन्तव्य राख्दै सोसाइटीले गर्ने कामको प्रसंसा गरेका थिए ।
सोसाइटीका संस्थापक एवं अध्यक्ष मुरलीधर रूँगटाको सभापतित्वमा भएको कार्यक्रममा पर्सा र बाराका १४ वटा शैक्षिक एवम् सामाजिक संस्थाकलाई पङ्खा, ह्विलचेयर, ब्याग लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह लगायतको सहभागिता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया