पछिल्लो समयमा यातायातको पहुँच बढेसँगै नेपालमा भोकमरी घट्दै गएको छ ।
प्रत्येक सात वर्षमा गरिने विश्वव्यापी भोकमरी सूचांक ग्लोबल हंगर इन्डेक्सका अनुसार नेपालमा व्याप्त रहेको भोकमरीको अवस्थामा क्रमिक सुधार आउँदै गएको छ।
कुल १२१ देशहरुमा गरिएको सर्वेक्षणमा नेपाल ८१औँ स्थानमा रहेको छ । हाल नेपालको ग्लोबल हंगर सूचांक स्कोर १९.१ रहेको छ । जुन स्कोरले नेपालमा मध्यम स्तरको भोकमरी रहेको जनाउँछ ।
यसअघि सन् २०१४मा गरिएको सर्वेक्षणमा नेपालमा भोकमरीको अवस्था गम्भीर र तुरुन्त सुधारका काम गर्नुपर्ने देखिएको थियो भने सन् २००७मा नेपालमा भोकमरीको अवस्था जटिल रहेको थियो । सन् २००० देखि २००७को समयमा भोकमरीकै कारण नेपालमा शिशु मातृ मृत्यु दर पनि उच्च रहेको थियो । तर भोकमरी निवारणका लागि सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा भोकमरी र शिशु मातृ मृत्यु दरमा पनि सुधार आउँदै गएको छ ।
भोकमरी सूचांकले कुपोषण, उचाइ अनुसार तौल नपुगेका पाँच वर्ष मुनिका बालबालिका, उमेर बढेता पनि उचाइ नबढेका पाँच वर्ष मुनिका बालबालिका र बाल मृत्यु दरका आधारमा देशहरुलाई श्रेणीबद्ध गर्दै आएको छ ।
सूचांक स्कोर कम हुने देशहरुमा भोकमरीको अवस्था सामान्य रहेको बुझिन्छ । शून्य देखि ९.९ सम्मको स्कोरले भोकमरीको अवस्था सामान्य वा न्युन भन्ने बुझाउँछ भने १०–१९.९ सम्मको स्कोरले भोकमरीको अवस्था गम्भीर भन्ने देखिन्छ । यस्तै २०–३४.९ सम्मको स्कोरले भोकमरीको अवस्था गम्भीर, ३५–४९.९ सम्मको स्कोरले आपत्कालीन र ५० माथिको स्कोरले एकदमै जटिल अवस्था रहेको बुझाउँछ ।
नेपालमा भोकमरीको अवस्था तुलनात्मक रुपमा अन्य दक्षिण एशियाली देशहरुमा भन्दा सुधारोन्मुख रहेको छ । नेपाल भारत, पाकिस्तान, अफ्गानिस्तान र बाङ्लादेश भन्दा अगाडि रहेको छ । तथापि श्रीलंकाको तुलनामा नेपाल पछि रहेको छ । श्रीलंका १३.६ स्कोर सहित ६४औँ स्थानमा रहेको छ ।
यस्तै भारत २९.१ अंक सहित १०७औँ स्थानमा रहेको छ भने पाकिस्तान २६.१ अंक सहित ९९औँ स्थानमा र अफगानिस्तान २९.९ अंक सहित ११९औँ स्थानमा रहेको छ ।
तथापि नेपालमा भोकमरीको अवस्थामा सुधार आएता पनि उक्त सुधार पर्याप्त नभएको खाद्य सुरक्षा विज्ञहरुले बताउँछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया