यूटीएललाई माघ मसान्तसम्म ५ अर्ब ३० करोड वक्यौता तिर्न निर्देशन

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (युटीएल) वक्यौता वापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न युटीएललाई निर्देशन दिएको हो ।

युटीएलले प्राधिकरणलाई पाँच अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ भुक्तानी गर्न बाँकी छ । कम्पनीलाई विसं २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरिएको थियो । त्यसपछि प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम भुक्तानी गरेको छैन ।

लामो समयसम्म तोकिएको रकम भुक्तानी नगरेपछि प्राधिकरणले माघ मसान्तसम्मको समय तोकेर भुक्तानी गर्न निर्देशन गरेको हो । माघ मसान्तभित्र वक्यौता रकम नतिरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै केसीएन नेट प्रालि काठमाडौँ महानगरपालिका–६ बौद्धलाई दिइएको लाइसेन्स खारेज गरिएको जनाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ९ई(मेलसहित० सेवाको अनुमतिपत्र प्राप्त संस्था केसीएन नेटले नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकाले स्वतः खारेज भएको जनाएको छ ।

उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

साथै इन्टरनेट (ई-मेलसहित) सेवा सञ्चालन गरे वापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु समेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।